ड्रयागन् बोट रेसका उपाधि बिजेता नेपाली टोलीलाई पोखरामा सम्मान

नेपाली राष्ट्रिय टोलीद्वारा सबै इभेन्टमा क्लिन स्विप

पोखरा स्पोर्टस । मित्रराष्ट्र चिनमा आयोजित अन्तर्राष्ट्रिय ड्रयागन् बोट रेसमा उपाधि बिजेता नेपाली राष्ट्रिय टोलीलाई पोखरामा सम्मान गरिएको छ ।  पोखरा महानगर पालिकाले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । चिनको लुलाङ शहरमा गत साता सम्पन्न “लुलाङ चीन–नेपाल मैत्रिपुर्ण ड्र्यागन् बोट रेस”मा छुट्टा–छुट्टै चार वटा इभेन्टमा नेपाली राष्ट्रिय टोलीले क्लिन स्विप गर्दै उपाधि जितेको थियो ।

के हो ड्रयागन बोट रेस
चिनेसहित एसियान मुलुकमा २ हजार वर्ष अघिबाट सुरु भएको यो खेल विशेष पर्वहरुमा खेलिने गरिन्छ । चिनियाँ परम्परागत क्यालेण्डरको पाँचौं महिनाको पाँचौं दिन आयोजना गर्ने प्रचलन छ। यो चीनका चार प्रख्यात परम्परागत पर्व तथा महोत्सव मध्येको एक हो। ड्र्यागन डुङ्गा महोत्सव चिनियाँहरुले मानव जीवन र मृत्युको स्मरणमा परापूर्वकालदेखि मनाउने प्रचलन छ । यसलाई चिनियाँहरुले पारिवारिक र समुदायको पुनर्मिलनको रुपमा पनि लिने गरेका छन्।

ड्रयागन् बोट रेसमा पहिलो पटक अन्तर्राष्ट्रिय स्पर्धामा उत्रिएको नेपाली राष्ट्रिय टोलीले सडक मार्ग हुँदै चिनको लुलाङ पुगेको थियो । ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित लुलाङमा आयोजित उक्त प्रतियोगितामा विभिन्न ८ देशको सहभागिता रहेको नेपाली राष्ट्रिय टोलीका टिम प्रशिक्षक निम राना मगरले बताए । आफूसहित १५ सदस्यिय टिम लिएर चिन पुगेको उनले भने–“यो महत्वपूर्ण क्षण हो । हामीले सडकमार्ग हुँदै यात्रा तय मात्रै गरेनौं जल खेलमा नेपाल उत्कृष्ट छ भन्ने सन्देश समेत विश्वलाई दिएका छौं ।”

प्रतियोगिता अन्तर्गत भएको ड्रयागन् बोट रेस १०० मिटर, २०० मिटर, यार्क र्याफ्ट र प्याक र्याफ्ट गरी चार वटै इभेन्टमा नेपालले उपाधि जितेको थियो । “वोटरेस त हामीले राम्रै तयारी गरेका थियौं” प्रशिक्षक निमले भने–“तर हामीले खेल्दै नखेलेको सन्दै नसुनेको यार्क र्याफ्ट र प्याक र्याफ्टमा समेत उपाधि जित्न सफल भयौं । त्यसैले पनि आयोजक चिन समेत हाम्रो प्रतिस्पर्धाबाट चकित नै परेको थियो ।”

प्रतियोगितामा सहभागि रहेका खेलाडी विष्णु गुरुङले नेपाली खेलाडीहरुले चिनमा राम्रो अनुभव बटुलेको जनाउँदै नेपाली खेलाडी जस्तो सुकै कठिन घडीमा आफूलाई अन्तर्राष्ट्रिय ऐरिनामा सक्षम छ भन्ने कुरा प्रमाणित गर्न सक्ने बताए । उनले भने–“खेलाडीलाई राम्रो सम्मान मिलोस । समयमा प्रशिक्षण होस । हामी नेपाली झण्डालाई जस्तो सुकै कठिन घडिमा माथी उठाउन हरदम तयार छौं ।”

उपाधि बिजेता खेलाडीहरुलाई बधाई तथा सम्मान गर्दै पोखरा महानगर पालिकाका प्रमुख एवं नेपाल ड्र्यागन बोट संघका केन्द्रिय अध्यक्ष धनराज आचार्यले नेपाली राष्ट्रिय टोलीले देखाएको अदम्य साहशको प्रसंशा गर्दै नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा नै उत्कृष्ट छाप छोड्न सफल भएको बताए । उनले भने–“यहाँहरुले उपाधि मात्रै जित्नु भएको छैन । मित्रराष्ट्र चिनिया नागरिकहरुको समेत मन जितेर फर्किनु भएको छ । यहाँहरुलाई बधाई छ ।”

संघ स्थापनाको एक वर्ष पनि नपुग्दै नेपाली ड्रयागन बोटले ऐतिहासिक जित हासिल गरेको जनाउँदै प्रमुख आचार्यले अब भने यो यात्रा नरोकिने बताए । नेपालका चार वटा प्रदेशका विभिन्न तालहरुलाई लक्षित गर्दै प्रतियोगिताहरुको आयोजना गरिने जनाउँदै प्रमुख आचार्यले प्राप्त उपलव्धीहरुलाई रक्षा गर्न विभिन्नस्तरका खेलाडीहरु उत्पादन गर्ने अभियानलाई समेत अघि बढाउने बताए ।

कार्यक्रममा नेपाल चिन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सीना, पोखरा वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग वडा नं ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्य, नेपाल ड्रयागन बोट संघकी केन्द्रिय उपमहासचिव डा.सिता ढुङ्गाना, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले खेलकुद मार्फत पोखराको पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेल्ने बताए ।

उक्त प्रतियोगितामा १५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close