
पोखरा स्पोर्ट्स । आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) को ब्वाइजमा बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ ।
समूह ‘ए’ बाट भारत विजेता तथा श्रीलंका उपविजेताका बन्दै सेमिफाइनलमा पुगेका छन् । समूह ‘बी’ बाट पाकिस्तान र नेपाल क्रमशः पहिलो र दोश्रो हुँदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा भारतको भेट नेपालसंग हुनेछ भने श्रीलंकाले पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
सेमिफाइनल जित्ने टोली सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका छनोट हुने छन् । ब्वाइजमा बंगलादेश बाहेक ६ राष्ट्र सहभागी छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार ब्वाइज÷गर्ल्समा समान २–२ गरी ४ खेल सम्पन्न भए । नेपालको दुवै टोलीले प्रतिस्पर्धा गरेको थियो । दुवैमा नेपाल समान ३–० को नतिजामा पराजित भयो ।
ब्वाइजमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ । सिंगल्समा पाकिस्तानका मुहम्मद आयानले सभ्यजंग कार्कीलाई ६–० र ६–२ तथा पाकिस्तानका मुहम्मद गिलले आरित मल्ललाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । डबल्समा पाकिस्तानका मुहम्मद फाइजन र गिलको जोडीले साहंश बस्नेत र सभ्यजंगको जोडीलाई ६–२ र ६–१ ले हराए । ब्वाइजमै भारतले श्रीलंकालाई ३–० ले पाखा लगायो ।
पाँच राष्ट्र सहभागी गर्ल्सको राउन्ड रोविन लिगमा भारत र माल्दिभ्सले जित आत्मासात् गरे । भारतले नेपाललाई ३–० ले पन्छायो । सिंगल्समा भारतकी पी चतर्जीले आर्या पौडेललाई ६–२ र ६–१ भारतकी अशिष कौरले सारा पन्तलाई ६–० र ६–२ तथा डबल्समा भारतका चौधरी सिंह र आशिष कौरको जोडीले नाइरा घले र सारा पन्तको जोडीलाई ४–६, ६–३ र १०–४ ले पराजित गरे । माल्दिभ्सले पाकिस्तानमाथि ३–० को जित दर्ता गरेको छ ।
तेश्रो दिनको खेल समाप्तिसम्म गर्ल्समा समान २–२ खेलेका भारत, श्रीलंका र नेपालले क्रमशः २, २ र १ खेलमा जित हात पारेका छन् । माल्दिभ्स र पाकिस्तानले समान ३–३ खेल खेलिसकेका छन् । माल्दिभ्सले १ मा जित निकालेको छ भने पाकिस्तान जितविहीन छ । गर्ल्समा पनि शीर्ष २ स्थानमा टोली एसियाली फाइनल प्रतियोगिताका लागि छानिने छ ।