
पोखरा स्पोर्ट्स । प्रादेशिक क्रिकेट संघ गण्डकी र अष्ट्रेलियाको मेलबर्नस्थित भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भिआइटी) बीच क्रिकेट विकासका लागि प्रायोजन सम्झौता सम्पन्न भएको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीले उक्त सम्झौता बुधबार गैँडाकोटमा सम्पन्न भएको जनाएको छ । सम्झौतापत्रमा गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल र भिआइटीका अन्तर्राष्ट्रिय निर्देशक बाबु खनालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार भिआइटीले एक वर्षका लागि गण्डकी प्रदेशको पुरुष तथा महिला सिनियर क्रिकेट टोलीलाई प्रायोजन गर्नेछ । साथै, गण्डकी प्रदेशका टोलीहरूले राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा जर्सीको छाती भागमा प्रायोजकको लोगो राख्ने सहमति भएको छ । सम्झौता प्रारम्भिक रूपमा एक वर्षका लागि रहनेछ र आगामी दिनमा वार्षिक रूपमा नवीकरण गर्दै लैजाने सहमति भएको अध्यक्ष सिग्देलले जानकारी दिएका छन् ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य सुदिप शर्मा, नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्ष धामनाथ सापकोटा, भिआइटीका प्रतिनिधि सागर कँडेल र पवित्रा खनाललगायत जिल्ला क्रिकेट संघ नवलपुरका पदाधिकारी तथा सिनियर खेलाडीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा क्रिकेट विकासका थप सम्भावनाबारे छलफल हुनुका साथै जारी प्रधानमन्त्री कप प्रतियोगितामा गण्डकी टोलीको प्रदर्शनबारे समीक्षा समेत गरिएको संघले जनाएको छ ।
भिआइटीका अन्तर्राष्ट्रिय निर्देशक बाबु खनालले आगामी दिनमा पनि यस्तो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यता गण्डकी प्रादेशिक क्रिकेट संघले भिआइटीको सहयोगप्रति आभार व्यक्त गर्दै यस साझेदारीलाई अझ विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।
स्मरणीय छ, गण्डकी प्रदेश क्रिकेट संघले क्रिकेट खेलको विकासका लागि गरेको यो सम्झौता हालसम्मकै सबैभन्दा ठूलो मानिएको छ ।
