
पोखरा स्पोर्टस । नेपाली कलाकारहरुले मैत्रीपूर्ण फुटबल खेलेर ओलम्पिक दिवस मनाएका छन् ।
ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार कलाकार टिमबीच मैत्रीपूर्ण फुटबल खेलेर मनाएका हुन् ।
नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनद्वारा आयोजित फुटबलमा धीरेन शाक्य कप्तान रहेको टिमले सुनिल थापा नेतृत्वको टोलीलाई ५–३ गोलले पराजित गरेको छ । शाक्य भेट्रान्स फुटबल खेल्नका लागि पोखरा समेत आउने गर्छन् ।
मैत्रीपूर्ण फुटबल आयोजनाका लागि चलचित्र कलाकार संघले समन्वय गरेको थियो । विजेतालाई कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत समेत गरेका छन् । यस वर्ष ओलम्पिक दिवस नेपालमा जुन १ बाटै मनाउन थालिएको हो ।
उक्त दिवसलाई मध्यनजर गर्दै देशव्यापी रुपमा विभिन्न कृयाकलाप संगै खेलकुद प्रतियोगिताहरु आयोजना हुने क्रम जारी रहेको छ । ओलम्पिकको महत्वका बारेमा सुसुचित गर्न कमिसनले यस प्रकारका कार्यक्रम गर्न प्रोत्साहित गरेको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
