


पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा स्याङजा र नवलपुरले प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा मंगलबार सम्पन्न सेमीफाइनल खेलमा दुवै टोली विजयी बनेका हुन् ।

आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेलका रूपमा आयोजना गरिएको प्रतियोगितामा नवलपुरले बाग्लुङलाई एकपक्षीय ७–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो ।
त्यस्तै, दोस्रो सेमीफाइनलमा स्याङजाले म्याग्दीलाई २–० ले हराउँदै उपाधि भिडन्तमा नवलपुरसँगको भेट पक्का गर्यो । खेलाडी छनोट समितिका संयोजक बिनोद गुरुङका अनुसार दुवै टोली उत्कृष्ट लयमा देखिएका छन् ।
यसअघि उद्घाटन खेलमा म्याग्दीले कास्कीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो ।
फाइनल खेल बुधबार आयोजना हुने छ भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा पनि सोही दिन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १० का अध्यक्ष राजेश गुरुङले गरेका थिए । उनले पोखरा रंगशालालाई सक्रिय बनाउन यस्ता प्रतियोगिताहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै यसले युवा खेलाडी उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष तिलक बहादुर अधिकारी र कार्यालय प्रमुख डिबी नेपालीले पनि मन्तव्य राखेका थिए ।