
पोखरा, १ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतिक ओलम्पिक टर्च (मशाल) पोखरा परिक्रमा गराइएको छ । ओलम्पियन जित बहादुर केसी, डम्बर कुबर, बिमला राना मगर, मेनका रावत र भगबती केसी सहित खेलाडी टोलीले टर्चलाई नगर परिक्रमा गराएका हुन ।
यस अघि पोखरा रंगशालामा नयाँ वर्ष २०७६ को अबसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम तथा खेलाडी बिदाई कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नर देबी पुनले गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि तयार रहेको बताइन ।

आठौं राष्ट्रियमा पदक जितेर पुनः एक पटक बधाई दिने मौका प्रदान गर्न खेलाडीलाई आह्वान गर्दै मन्त्रि पुनले आगामी वर्षको प्रदेश सरकारको बजेट अब खेलकुद बिकास बजेटका रुपमा आउने बताइन । ‘हामीले गत वर्ष बजेट छुटटाउन केही त्रुटी गरेका रहेछौं तर अब त्यो दोहरिने छैन, हामी खेलकुदका अन्तर्राष्ट्रिय पूर्वाद्धार तयार गरेर खेलकुद मार्फत प्रदेशमा पर्यटन प्रवद्र्धन गर्न चाहन्छौ ।’ उनले खेलाडीलाई उच्च मनोबलका साथ मेदानमा उत्रिन खेलाडीलाई आग्रह समेत गरिन ।
सो अबसरमा मन्त्रि पुनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत गण्डकी प्रदेश सेफ दि मिसन प्रमुख पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको झण्डा हस्तान्तरण गरेकी थिइन ।

अध्यक्ष श्रेष्ठले उक्त झण्डा आठौं प्रतियोगिताको उद्घाटन अबसरमा हुने खेलाडीको मार्च पासको नेतृत्व गर्न भलिबलकी महिला राष्ट्रिय खेलाडी मञ्जु गुरुङलाई हस्तन्तरण गरे । पश्चिमाञ्चल बाट दुई पटक राष्ट्रिय प्रतियोगिता र १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाएकी मञ्जुले आठौं खेलकुद उद्घाटन मार्चपासमा खेलाडीको नेतृत्व गर्ने छिन ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सांसद तथा बिकास समितीका अध्यक्ष दिपक कोईरालाले पोखरालाई खेलकुद पर्यटनको हबको रुपमा बिकास गर्न प्रदेश सरकारले सोही अनुसार अघि बढिरहेको बताउँदै भने–‘अब रंगशाला निर्माणका कुराले मात्रै होइन खेलकुद व्यवस्थापनको कुरा समेत जोड दिनु पर्छ ।’ उनले अब हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने गरि झण्डा लिएर फर्कन आग्रह समेत गरे ।

गण्डकी प्रदेशबाट कुस्ती बाहेक ३४ खेलमा ५ सय ५८ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले जानकारी दिएका छन । आठौंमा पुरुष ३ सय २ जना र महिलामा २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन । विभिन्न खेलमा गरी १ हजार ३ सय ७ वटा पदकको लागि हुने प्रतिस्पर्धामा गण्डकी प्रदेशले कम्तिमा पनि २८ स्वर्ण पदक ल्याउने दाबी अध्यक्ष श्रेष्ठले गरेका छन ।
Posted by PokharaSports.com on Sunday, April 14, 2019
