
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा बुधबार सम्पन्न फाइनलमा नवलपुरले स्याङजालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको हो ।
३०–३० मिनेटको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ३५औं मिनेटमा नवलपुरकी सलिना सारुले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। तर ३९औं मिनेटमा स्याङजाकी रबिना विकले बराबरी गोल फर्काउँदै खेललाई टाइब्रेकरमा पुर्याइन् ।

प्रतियोगितामा म्याग्दीले तेस्रो स्थान हासिल गरेको छ । म्याग्दीले बाग्लुङलाई ३–० ले हराउँदै तेस्रो बनेको हो । म्याग्दीका लागि निकिता सिंह, सरिता पटेल र काव्याश्री बानियाले गोल गरे ।
व्यक्तिगत विधातर्फ स्याङजाकी सरु हमाल उत्कृष्ट खेलाडी घोषित भइन् भने नवलपुरकी मनिषा तामाङ उत्कृष्ट गोलकिपर चुनिइन् ।
फाइनल खेलको उद्घाटन प्रतिनिधि सभाका सदस्य उत्तम पौडेलले गरेका थिए । सो अवसरमा उनले खेलकुदमा लगानी वृद्धि गरी खेलाडीको हित र खेलकुद विकासमा सधैं सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले राजनीतिज्ञहरूले खेलकुदबाट लोकतन्त्रको पाठ सिक्नुपर्ने बताए । उनले गण्डकी प्रदेशका खेलकुद पूर्वाधार विकास तथा मर्मतका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको करिब २१ करोड रुपैयाँ बजेट रोकिँदा खेलकुद विकास प्रभावित भएको उल्लेख गरे ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा विजेता टोली तथा खेलाडीलाई अध्यक्ष गुरूङसहित समितिका कोषाध्यक्ष आशिष थापा, जिल्ला खेलकुद समितिका सदस्य डिल्लिजङ्ग गुरूङ, कार्यालय प्रमुख डिबी नेपालीलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा पाँच जिल्लाको सहभागिता रहेको थियो भने यो प्रतियोगिता आसन्न दशौं राष्ट्रिय खेलकुदका लागि छनोट खेलका रूपमा रहेको आयोजकले जनाएको छ ।
