
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशस्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता तनहुँको सदरमुकाम दमौलीमा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धनमा सो प्रतियोगिता यहि बैशाख २६ र २७ गते हुने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिएका हुन् ।
प्रतियोगितामा सहभागिताका लागि सबै जिल्लाहरुलाई पत्रचार गरिएको जानकारी दिंदै अध्यक्ष पाण्डेले आसन्न दर्शौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको उत्कृष्ट खेलाडीहरु छनौट गरी बलियो उपस्थिती जनाउन यो प्रतियोगिताको महत्वपूर्ण हुने अपेक्षा रहेको उनले पोखरा स्पोर्ट्सलाई बताए । प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
तनहुँ दमौली व्यास नगर पालिका वडा नं ३ अनसन चौतारी खेल मैदानमा आयोजना हुने सो प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । करिव २५ लाख खर्च लाग्ने प्रतियोगिता आयोजनाका लागि गण्डकी प्रदेश भलिबल संघ, जिल्ला भलिबल संघ तनहुँ र तनहुँका १० वटै पालिकाहरुको समेत सहकार्य रहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।
यसै बीच, जिल्ला खेलकुद विकास समिति तनहुँले गत २०८२ मंसिर १८ देखि २२ गते सम्म तय गरेको राष्ट्रिय भलिबल प्रतियोगिता मुलुकमा भएको जेन्जी आन्दोलनका कारण स्थगित भएसँगै आगामी आर्थिक वर्षमा सञ्चालनका लागि पूर्व तयारी समेत रहेको अध्यक्ष पाण्डेले जनाए । उनले भनेका छन्–“यो हाम्रो लागि ठूलो अवसर हो । खेलकुद गतिविधिलाई चलायमान बनाउन र जिल्लामा खेलकुदको विकास एवं प्रवर्द्धनका लागि यो छनौट प्रतियोगिता कोशेढुङ्गा सावित हुनेछ ।”
देशकै मध्यभागमा रहेको व्यास नगर पालिका पछिल्लो पटक ६ लेनको सडक विस्तारसँगै पोखरा लगायत आसपासका शहरहरुबाट समेत आवागमन सहज भएकोले पनि विभिन्न खेलकुदका गतिविधिहरु सञ्चालनका लागि समेत उत्तिकै महत्वपूर्ण रहेको अध्यक्ष पाण्डेले जनाए ।
