चन्द्रगढी महिला गोल्डकपमा सहभागिता जनाउने आर.एस क्लब टोलीको बिदाई

पोखरा स्पोर्ट्स । झापा भद्रपुरमा पहिलोपटक आयोजना हुन लागेको चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागिता जनाएको आर.एस क्लब टोलीलाई बिहिबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

आर.एस क्लब पोखराले नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदानसँगै प्रतियोगितामा सहभागिता जनाउन लागेको टोलीलाई एक कार्यक्रमका बीच बिदाई गरेको हो । झापा प्रस्थान गर्नु अघी टोलीलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङ, उपाध्यक्ष तिलक बहादुर अधिकारी, कास्की फुटबल संघका अध्यक्ष उज्जवल रन्जित, संघका उपाध्यक्ष नरेन्द्र प्रसाद गुरूङ, आर.एस क्लबका अध्यक्ष रमेश कार्की लगायतले बिदाई गर्दै जितको शुभकामना दिएका थिए ।

सो अवसरमा बोल्दै जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङले फुटबललाई चलायमान बनाउन आर.एस क्लबको भूमिका महत्वपूर्ण रहेको जनाउँदै पोखरा रंगशालाको फुटबल खेल मैदान सबैलाई सहज रुपमा उपयोग गर्न खेलाडीहरुलाई आग्रह गरे । उनले भने–“यो यहाँहरुको खेल मैदान हो । जुनसुकै बेला आएर खेल्नुस हामी सहयोग गर्न तयार छौं । कुनै समस्या पर्यो भने जिल्ला खेलकुद समधान गर्न तयार छ ।” उनले खेलाडीहरुलाई चन्द्रगढी गोल्डकपमा जीतको शुभकामना समेत् दिए ।

कार्यक्रममा कास्की फुटबल संघले खेलाडीहरुलाई ५ थान फुटबल समेत् उपलब्ध गराएको छ ।

आर.एस क्लब टिममा मनिषा तामाङ, गिता श्रेष्ठ, दिपिका राई, निकिता सिंह ठकुरी, समिक्षा पौडेल, स्मृति बारघरे, बिजु सारुमगर, अनिशा बिक, आयुषा रेउले, बिनिता घर्ती, उषा शाही, बिपना परियार, इशा चौधरी, सरिता बिक, गङा गुरुङ, पुजा गिरी र अंशु विक रहेका छन् । त्यस्तै प्रशिक्षकमा जङ्ग बहादुर थापा, ब्यब्स्थापकमा प्रज्वल पौडेल, अफिसियलद्वयमा सन्तोष श्रेष्ठ र पुकार कार्की रहेका छन् ।

यहि वैशाख ५ गतेदेखि १४ गतेसम्म मेची रंगशालामा सञ्चालन हुने सो प्रतियोगिता हाल सम्मकै सर्वाधिक पुरस्कार रकमको प्रतियोगिता हो । प्रतियोगिताको विजेता टिमले ११ लाख रुपैयाँ नगद तथा उपाविजेताले ५ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा आयोजकसहित नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब, साथै चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लबलगायत टिमको सहभागिता रहेको छ भने भारत, भुटान र दुई अन्य एसियाली देशका क्लबहरू सहभागी हुनेछन् ।

गण्डकी बाट सहभागिता जनाउने आर एस महिला फुटबल टिमले बैशाख ५ गते हुने उद्घाटन खेलमा नेपाल आर्मी क्लब विरुद्ध प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष रमेश कार्कीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।

यसैबीच, आर.एस क्लब पोखराले बिहिबारबाट नै पुरुष खेलाडी उत्पादन गर्न सुरूवात गरेको छ । यस अघी महिला फुटबल उत्पादनमा महत्वपूर्ण योगदान दिएको क्लबले पुरुषतर्फ खेलाडी उत्पादन सुरूवात गरेको अध्यक्ष कार्कीले बताए ।

यसका साथै क्लबले यहि बैशाख १४ देखि २१ गते सम्म पोखरा रंगशालामा महिला गोल्डकप समेत आयोजना गर्ने भएको छ । पोखरामा पहिलो पटक आयोजना हुने महिला गोल्डकप सफल बनाउन अध्यक्ष कार्कीले सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close