
पोखरा स्पोर्ट्स । पोखरा रंगशाला परिशरमा शुद्ध पिउने पानीको सहज उपलब्धताका लागि नयाँ अटोमेटिक डिसपेन्सर मेशिन जडान गरिने भएको छ । उक्त मेशिन पोखरा महानगरपालिका वडा नं १० को सहयोगमा जडान हुन लागेको हो । यसअघि पनि पोखरा उद्योग वाणिज्य संघको सहयोगमा यस्तै प्रकारको एक मेशिन जडान भइसकेको छ ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार नयाँ मेशिन क्रिकेट मैदानको गेट नजिकै राखिनेछ । मेशिन सञ्चालनमा आएपछि रंगशालामा दैनिक आउने खेलाडी, प्रशिक्षक तथा आगन्तुकलाई तातो र चिसो पानी सहज रूपमा उपलब्ध हुने उनले बताए ।
उनले भने, “यसअघि बहुउद्देश्यीय कभर्डहल नजिकै जडान गरिएको मेशिन सञ्चालनमा आइसकेको छ । नयाँ मेशिन रंगशालाको मध्य भागमा रहने भएकाले क्रिकेट, फुटबल, एथलेटिक्सलगायतका खेलाडीलाई थप सुविधा पुग्नेछ ।”
पोखरा महानगरपालिका वडा नं १० ले करिब १ लाख ५० हजार रुपैयाँ लागतमा मेशिन जडान गर्न लागेको हो । साथै, मेशिनको सुरक्षा र व्यवस्थापनका लागि समितिले ‘शेड’ समेत निर्माण गरेको छ ।
जिल्ला खेलकुद विकास समिती कास्कीले पोखरा रंगशालालाई शुरक्षित बनाउन सिसी क्यामेरा जडानलाई अघी बढाएको छ भने वातावरणमैत्री बनाउन रुख विरुवा रोप्ने र संरक्षण गर्ने अभियान, फोहेर मैला व्यवस्थित गर्न मोवाइल कन्टेनर लगायतका कार्यहरुलाई समेत अघी बढाइएको समितीका उपाध्यक्ष तिलक बहादुर अघिकारीले जानकारी दिए ।