
पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न दोश्रो लेखनाथ हाफ म्याराथन (२१ कि.मी)को उपाधि विभागिय टिम नेपाल आर्मीमा सञ्जय श्रेष्ठले जितेका छन् ।
पोखरा महानगर पालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न हाफ म्याराथन १ घन्टा ०४ मिनेट ४७ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उपाधि जिते संगै उनले नगद रु ६० हजार संगै पदक तथा प्रमाणपत्र प्राप्त गरे ।
सोही दौडमा एपिएफ क्लबका किरण बोगटीले १ घन्टा ०६ मिनेट ३३ सेकेण्डमा दौड पुरा गरी उपविजेता बन्दा १ घन्टा ०९ मिनेट २९ सेकेण्डमा दुरी पार गरेका नेपाल आर्मीका रामजी बस्नेत तेस्रो भए । किरणले नगद ३० हजार र तेस्रो भएका रामजीले नगद रु २० हजार हात पारे ।
त्यस्तै एपिएफ क्लबका खिम बहादुर खत्री चौथो, आर्मीका प्रताप खड्का पाँचौ भए । उनीहरुले क्रमश नगद रु १० र ५ हजार प्राप्त गरे ।
पोखरा १७ निवासी चेतनाथ चालिसे पोखरा च्याम्पियन भएका छन् । उनले १ घन्टा ३४ मिनेटमा दुरी पार गरी च्याम्पियन बने । उनले नगद रु १० हजार प्राप्त गरे ।
१० किमि दौड महिला/पुरुष
त्यस्तै महिला तथा पुरुष खुल्ला १० किमि दौडमा महिलातर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले ३५ मिनेट ०७ सेकेण्डको समय लिंदै पहिलो स्थान बनाउन सफल भइन् भने पुरुषतर्फ समेत आर्मीकै श्रीकश राई पहिलो भए । उनले ३० मिनेट १७ सेकेण्डको समय लिए । उनीहरुले जनही नगद रु ३०/३० हजार हात पारे ।
महिलातर्फ नै नेपाल प्रहरीकी राम माया बुढा दोस्रो र आर्मीकी सिर्जना पाण्डे तेस्रो भइन् । उनीहरुले क्रमश नगद रु २० हजार र १० हजार प्राप्त गरे । १० किमि महिलातर्फ नै एपिएफकी पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौ भइन् । पुष्पाले नगद ५ हजार र आशाले नगद २ हजार ५ सय पाइन् ।
यसै गरी पुुरुषतर्फ आर्मीका सुवास कार्की दोस्रो भए । उनले ३० मिनेट २० सेकेण्डमा दौड पुरा गरे । उनले नगद रु २० हजार प्राप्त गरे । ३० मिनेट ५३ सेकेण्डमा दौड पुरा गरेका ललितपुरका अजित कुमार यादव तेस्रो भए । उनले नगद १० हजार प्राप्त गरे । गण्डकीका दिनेश बोगोटी चौथो भए । उनले नगद ५ हजार पाए भने एपिएफका राजेन्द्र तामाङ पाँचौ स्थान प्राप्त गर्दै नगद २ हजार ५ सय प्राप्त गरे ।
विद्यालय ५ किमि छात्र/छात्रा दौड
विद्यालयस्तरीय ५ किमि छात्र दौडमा कास्की मोर्डनाइज्डका बादल कार्की पहिलो भएका छन् । उनले १८ मिनेट ४४ सेकेण्डमा दुरी पार गरी पहिलो हुँदा कुमुदुनीका कृष्ण परियार १८ मिनेट ४६ सेकेण्डमा पुरा गरी दोस्रो भएका छन् भने भद्रकाली मावीका गंगा गुरुङ १९ मिनेट ४८ सेकेण्डमा पुरा गरी तेस्रो भए । उनीहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे ।
छात्रतर्फ नै भद्रकालीका इम बहादुर गुरुङ, छोरेपाटनका तेन्जन रोक्का मगर, त्रिवेणी पब्लिकका रोहित पटेल, सहिद स्मृतीका दिल बहादुर खड्का, छोरेपाटनका प्रकाश थिङ, बिन्दवासिनीका कृष्ण घर्ती र लक्ष्मी आदर्शका बिबेक अधिकारी क्रमश चौथो देखि दशौं स्थानमा आए । उनीहरुले समेत नगद पुरस्कार हात पारे ।
त्यसै गरी छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मीला बि.कले २३ मिनेट १७ सेकेण्डमा पुरा गरी पहिलो भइन् । उनले नगद १५ हजार हात पारिन् भने कालिका मावीकी स्वीकृती कार्की २४ मिनेट १५ सेकेण्डको समय लिंदै दोस्रो भइन् । उनले नगद १० हजार पाइन् । छोरेपाटन मावीकी नारायणी भण्डारी २६ मिनेट ५३ सेकेण्डमा दुरी पार गरी तेस्रो हुँदै नगद ५ हजार प्राप्त गरीन् ।
प्रतियोगितामा छोरेपाटन मा.विकी विष्णु थापा चौथो, गौरीशंकर मा.विकी कविता मगर पाचौ, मेघराज माविकी एञ्जिलन जि.टी छैटौ, छोरेपाटनकी साधना सेवा सातौं, डायमण्ड मा.वि की शुभश्री राणा आठौं, छोरेपाटनकी कञ्चन लिम्बु नवौं र ज्ञानज्योति विद्याश्रमकी ध्वजकुमारी नेपाली दशौं स्थान प्राप्त गरे । उनीहरुले समेत नगद पुरस्कार हात पारे ।
भेट्रान्स दौड
भेट्रान्स ४५ वर्ष माथी ५ किलोमिटरमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको पोखरा महानगर पालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन् ।
विजेतालाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताका ६ वटा विधामा गरेर ५ सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिएका छन् । प्रतियोगितालाई कास्की जिल्ला एथ्लेटिक्स संघले प्राविधिक सहयोग गरेको थियो ।
