
केशब पाठक
पोखरा, २८ भदौ ।
पोखरा रंगशालमा नवनिर्मित बहुउद्धेश्यिय कभर्डहल निर्माण कम्पनिले ५ वर्ष पछि निर्माण सम्पन्न गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद द्वारा निर्मित नेपालको खेलकुदको सम्भवत सबैभन्दा ठूलो बहुउद्धेश्यिय कभर्डहल २०७० चैत २४ गते सम्झौता गरि डाँफे मुन्ना एण्ड आचार्य कम्पनीले काम थालेको थियो ।
समझौता बमोजिम निर्माण कम्पनी २०७२ असार अर्थात दुई वर्षमा काम सम्पन्न गरि सक्नु पर्ने भए पनि ढिलो गरि २०७५ जेठ मसान्तमा काम सकेको हो ।
उक्त बहुउद्धेश्यिय कभर्ड हल करिब १४ करोड ३० लाखमा सम्झौता भएको भए पनि पछि थप भएका अन्य कार्यहरुले १६ करोड २१ लाखमा सकिएको हो । तर हलका लागि भने केही महत्वपूर्ण आधारभुत कामहरु भने अधुरै छन ।
हलमा आवश्यक पर्ने कुर्ची, एसी, साउण्ड सिष्टम, सार्वजनिक शौचालय, हलको पार्केटिङ र बाहिरको ल्याण्डस्केपको काम भने सकिएको छैन । हलको शुरक्षाका लागि पर्खाल, सिसी क्यामेरा यथासिघ्र जोड्न आवश्यक रहेको कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख बरालले बताएका छन ।
बाकी रहेका करिब ८ देखि ९ करोडको कामको छुट्टै टेण्डर गर्नु पर्ने रहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले जनाएको छ । परिषदले यि कार्यका लागि टेण्डर गरे पछि मात्रै हल पूर्ण रुपमा संचालनमा आउन सजिलो हुनेछ ।
बहुउद्धेश्यिय हलमा भलिबल, ह्याण्डबल, बास्केटबल लगाएत मार्शल आर्टका खेलहरु आयोजना गर्न सकिन्छ । जे बन्यो त्यो पोखराका लागि अति नै महत्वपूर्ण छ, राष्ट्रिय देखि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्नका लागि यो बहुउद्धेश्यिय कभर्डहल उपयोगी रहने कार्यालय प्रमुख बरालले बताए । “यो बहुउद्धेश्यिय कभर्डहलले पोखरा मात्रै नभएर प्रदेशका लागि हरेक कार्यक्रम आयोजना गर्न सजिलो त हुनेछ तर यसको संरक्षण पनि उत्तिकै आवश्यक छ” उनले भने ।
हलमा २ हजार १ सय ५९ कुर्चीहरु रहने छन । खेलाडीका लागि छुट्टै चेन्जिङ रुम, मिडिया कन्फ्रेन्स हल लगाएत अन्य कार्यका लागि समेत सुविधापूर्ण रहेको छ ।