
पोखरा स्पोर्टस । पोखरामा सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक केन्द्रिय सदस्यहरुले बहिस्कार गर्दै अध्यक्ष र कार्यसम्पादन समितिको राजिनामा माग गरेका छन् ।
बैठक सुरु भए लगतै क्यान असुन्तुष्ट टोलीले अध्यक्षको राजिनामा माग गरेको हो । सो बारे जानकारी दिंदै क्यानका सदस्य ऋषीराम गौतमले बैठक सुरु भए लगतै अध्यक्ष चतुरा बहादुर चन्द सहित सेभेन थ्रि स्पोर्टस कम्पनी संग सम्झौता गर्ने टि–२० कार्यसम्पादन समितिको राजिनामा माग गरिएको बताए ।
“क्रिकेट संघलाई वर्खास्त र निलम्वनबाट जोगाउन हामीले बैठकको सुरुमा नै आफ्नो पत्र बुझायौं”, उनले भने–“क्यानलाई जोगाउन अध्यक्षको राजिनामाको लागि पत्र बैठकमा बुझाएर बैठकको औचित्य नभएकोले हामीले बैठक वहिस्कार गरेका छौं ।”
बैठक वहिस्कार गर्नेहरुमा केन्द्रिय सदस्य ऋषीराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी रहेका छन् । उनीहरुले आज नै पत्रकार सम्मेलन मार्फत थप जानकारी दिने बताएका छन् । बैठक वहिस्कार गरे संगै लन्चका लागि भन्दै बैठक स्थगित गरिएको छ ।