
पोखरा स्पोर्टस । ओलम्पिक दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु देशव्यापीरुपमा जारी रहेका छन् । दिवसकै अवसरमा मंगलबार काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ भने स्क्वास प्रतियोगिताको तयारी थालिएको छ ।
दिवसको अवसर पारेर क्योकुसिन करातेका प्रशिक्षक स्व. रामजीप्रसाद वज्राचार्यको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । खेलाडी, प्रशिक्षकलगायत गरी ४६ जनाले रक्तदान गरेका छन् ।
यसै गरी नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अनुसार नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा ‘ओलम्पिक डे स्क्वास प्रतियोगिता’ हुने भएको छ ।
प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ । प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्ष माथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० जनाको सहभागिता रहने जनाइएको छ । नेपाल स्क्वास संघका सदस्य राजेन्द्र शाक्यका अनुसार यो स्क्वास प्रतियोगिता नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको वार्षिक क्यालेन्डरमा रहेको हुँदा हरेक वर्ष आयोजना हुने गर्दछ ।
