
केशब पाठक,
पोखरा, १२ माघ ।
१७ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता यहि फागुन ९ देखि १८ गते सम्म पोखरा रंगशालामा संचालन हुने भएको छ । प्रतियोगितामा ए डिभिजनका क्लबहरु, विभागीय टिम, विदेशी टिम र आयोजक टिमको सहभागिता रहने सहारा क्लबले जनाएको छ ।
“खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ संञ्चालन हुने १७ औं संस्करणमा प्रथम र दोश्रो पुरस्कारको धनराशी वृद्धि गरि क्रमशः रु. ८ लाख १ हजार र रु. ४ लाख १ हजार रुपैयाँ प्रदान गरिने भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबले जनाएको हो ।
कलबका अध्यक्ष केशब बहादुर थापाका अनुसार प्रतियोगिता संचालन बाट आम्दानी १ करोड ३० लाख १ हजार रुपैयाँ र कुल अनुमानित खर्च ९७ लाख ९८ हजार ९ सय रुपैयाँ रहेको बताएका छन । अध्यक्ष थापाले प्रतियोगिता बाट करिब वचत ३२ लाख २ हजार १ सय रुपैयाँ हुने प्रक्षेपण गरेका छन । बचत रकमले सहारा कलब पोखरा द्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्नवर्गका बालकहरु सम्मेलित सहारा फुटबल एकेडेमीमा सदुपयोग गरिने उनले जानकारी गराए ।
हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन, हिमा–अस् कन्सल्टेन्सी दोश्रो पुरस्कार प्रायोजक, अफिसियल स्र्पोट्स वेयर पार्टनर एक्स टेप स्र्पोट वयर, ईको पानी अफिसियल ड्रिकिङ वाटर, अफिसियल एयर लाईन्स बुद्ध एयर, अफिसियल हस्पिटल गण्डकी मेडिकल कलेल (जिएमसी), रोयल ईन्फिलिड बुलेट बाईक लगाएत एक दर्जन संघ–संस्था एवम ब्यबसायिक प्रतिष्ठानहरु रहने क्लब द्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
साथै यस वर्ष पनि “सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५” बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने जनाएको छ । सम्मानित खेलाडीलाई नगद रु. ३५ हजारका साथमा प्रमाण–पत्र र दोसल्ला प्रदान गरिनेछ । उक्त नगद पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङ्गले गर्ने भएका छन ।
सहारा क्लब द्वारा आयोजित पत्रकार सम्मेलनमा सहारा यूकेका महासचिब धनु थकाली (प्रन), तमु धि यूकेका नन्द जङ गुरुङ, वरिष्ठ पत्रकार नारायण कार्की, क्लबका बरिष्ठ उपाध्यक्ष हरेराम गुरुङ र महसचिब विश्वराज बराल लगाएतले सहाराले आयोजना गर्ने फुटबल प्रतियोगिता र यसको महत्वका बारेमा बोलेका थिए । सो अबसरमा सहारा यूकेका महासचिब धनु थकालीले सहारा यूके बाट प्रतियोगिताका लागि पठाइएका विभिन्न अवार्डहरु हस्तान्तरण गरेका थिए ।तस्बिरः सुदर्शन रंजित