राखेप सदस्य गुरुङ्गलाई एन्फा कास्कीले गर्यो स्वागत

पोखरा, १७ मंसिर ।
हालै राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनयन भएका पोखराका राजेश गुरुङ्गलाई कास्की जिल्ला फुटबल संघले स्वागत एवं सम्मान गरेको छ ।

सोमबार पोखरा रंगशालामा आयोजित एक समारोहका विच राखेप सदस्य गुरुङ्गलाई एन्फा कास्की पदाधिकारीहरुले फुल माला सहित स्वागत गरे । स्वागत समारोहमा बोल्दै गुरुङ्गले पोखरा रंगशालाको अवस्था दयनिय भएको बताए । “केहि दिनमा यहि रंगशालामा फुटबलका ठूला दुई प्रतियोगिता हुँदैछन् तर यहाँ खेलाडी, दर्शकका लागि बस्ने ठाउँ पनि छैन, यो दुःखद कुरा हो”–गुरुङ्गले भने । यसका बारेमा खेलकुद मन्त्रिलाई आँफैले गंभिरताका साथ कुरा राखिसकेको पनि गुरुङ्गले बताए । पोखरा रंगशालाको समस्या समाधानका लागि आफुले सेतुको काम गर्ने उनको भनाई थियो ।

कास्की जिल्ला फुटबल संघका गतिविधीहरुलाई सफल पार्न व्यक्तिगत तथा राखेपको तर्फबाट सहयोग रहने उनले जनाए । फुटबल संघले सञ्चालन गरेको ग्रासरुट कार्यक्रमका सहभागि खेलाडीहरुलाई सम्बोधन गर्दै गुरुङ्गले खेलकुदसंगै पढाइलाई पनि ध्यान दिन आग्रह गरे । फुटबल संघले सोही समारोहमा एनआरएन युकेका संयोजक एल।बि।जेड।गुरुङ्गलाई पनि स्वागत गरेको थियो । गुरुङ्गले पनि एन्फा कास्कीको सहयोगका लागि बेलायतमा पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

यसैविच जाइका संगको समन्वयमा सोमबारनै पोखरा रंगशालामा वातावरण र शैक्षिक कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा जाइकामा कार्यरत एन्फाका स्वयंसेवीहरुले जापानमा हुने प्रतियोगिताको तयारीका लागि तालिममा आएका खेलाडीहरुलाई फुटबल ज्ञान सिकाउनका साथै खेलकुद सामग्री सहयोग प्रदान गरे ।

कार्यक्रममा जाइकामार्फत एन्फाका टेक्निकल डाइरेक्टर चियाकी ताकेदा, गोलकिपर प्रशिक्षक तोशिहिरो मिचुमरु तथा अन्य स्वयंसेवीहरु युस्के खवाजी, केन्यि यशिहरु, सल्लाहकार क्योकि सुजुमुरा, कार्यक्रम व्यवस्थापक कल्पना राणा लगायतले खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेका थिए ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी मनकामना केबलकार कप फुटबल सफल पार्न फुटबल प्रेमीहरुलाई सहयोगका लागि अनुरोध गरे । कार्यक्रममा सदस्य नर गुरुङ्गले स्वागत तथा महासचिव रमेश कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close