अन्तर्राष्ट्रिय टेबलटेनिस : श्यान्टु र त्रिशा च्याम्पियन

पोखरा स्पोर्टस । नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा त्रिशा च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा श्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु चौधरीलाई ६–११, ११–३, ११–९, १३–११ र ११–४ को सेटमा पराजित गरे । बैंक अफ बरोडा, भारतका नितिन र श्रीकृष्ण अरुणचलम तेश्रो भए ।

सम्झना ल्याबको प्रमुख प्रायोजनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स फाइनलमा त्रिशाले गाजियाबाद, भारतकी अभानी त्रिपाठीलाई ११–७, ११–९, ८–११, ११–६ र ११–५ को सेटमा हराइन् । गाजियाबादकी तनिशा मोलानी र एजीएकी फिल्जाह फतिमा तेश्रो बने । पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०–१० हजार नगद पुरस्कार प्राप्त गरे ।

विभिन्न ६ स्पर्धा समावेश प्रतियोगितामा नेपाली तथा भारतीय टोली समान ३ स्वर्ण जिते । भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाही तथा ५५ वर्षमाथि एनिजकै राजन सुब्बाले स्वर्ण जितेका थिए । बैंक अफ बरोडाले पुरुष÷महिला दुवैको टिम इभेन्टमा पहिलो स्थान हात पार्‍यो । टिममा शीर्ष तीन स्थान हात पार्नेलाई पनि सिंगल्स सरहनै नगद पुरस्कार प्रदान गरियो । भेट्रानमा पहिलोले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार जिते ।

विजेतालाई बाग्मती प्रदेशका सांसद् राजकाजी महर्जन, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, आयोजक क्लबका अध्यक्ष उर्दिप जोशी, सम्झना ल्याबकी निर्देशक रजना श्रेष्ठ जोशी, स्पिन इभेन्ट प्रा.लि.का अध्यक्ष सुमन शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा दक्षिण एसियाली खेलकुदको टेबलटेनिसको टिम इभेन्टमा स्वर्ण जितेकी सिजरिन शाहलाई आयोजकले ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको थियो ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भएको पाँचदिने प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close