
पोखरा २७ भदौ ।
एन्फा स्याङजाले लेखनाथको भण्डारढिकमा सम्पन्न भएको रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को उपाधि जितेको छ । सैनिक वस्ती भण्डारढिकको फुटवल खेल मैदानमा बुधबार भएको फाईनल खेलमा एन्फा स्याङजाले आयोजक आर्दश क्लवलाई घरेलु मैदानमा ३–१ को गोल अन्तरले पराजित गर्दै उपाधि सहित नगद ३ लाख हात पार्न सफल भएको हो ।
उपविजेता भएको आयोजक आर्दशले नगद दुई लाख रुपैयाँ सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ । एन्फा स्याङजाको जितमा म्यान अफ दी म्याच घोषित मार्टिन, निरज बस्नेत र विश्वास श्रेष्ठले एक/एक गोलको योगदान दिए ।
आर्दशका विमल रानाले खेलको २५ औं मिनेटमा पहिलो गोल गरे पनि बाँकी समयमा सम्हालिन नसक्दा अन्ततः एन्फा स्याङजालाई जित सुम्पिनु पर्यो । अजित भण्डारीको पासमा रानाले गोल गरे पनि ३ जना विदेशी सहितका ए डिभिजनका खेलाडीहरुले मैदान भरेको स्याङजा बिरुद्धको खेलमा आर्दशले जित निकाल्न कठिन भयो ।
मार्टिनले खेलको ३५ औं मिनेटमा कर्नर बललाई हेड गोल गरी खेल बराबरीमा पुराएका थिए । बस्नेतले फ्रिकिकमा गोल गरी जित सुनिश्चित पार्दा खेलको ८८ औैं मिनेटमा श्रेष्ठले मार्टिनको पासमा गोल गरी गोल अन्तर फराकिलो पारे ।
आर्दशक प्रशिक्षक विश्वास गुरुङले सुरुमा आफुहरुले गोल गरे पनि खेलाडीहरु सम्हालिन नसक्दा पराजित हुन परेको बताए । स्याङजाका म्यानेजर सुन्दर श्रेष्ठले आफुहरुसंग विदेशी सहितक अनुभवी खेलाडीहरु भएकोले जित भएको बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले आर्दशका भिसन गुरुङ घोषित भए । उनले उपाधि सहित नगद २५ हजार प्राप्त गरे ।
त्यसै गरी प्रतियोगितामा ४ गोल गरेका आर्दशका बेल प्रसाद गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि हात पारे, उत्कृष्ट डिफेन्समा आर्दशकै अजित भण्डारी, उत्कृष्ट गोलरक्षकमा स्याङजाका राजा बाबु थापा, उत्कृष्ट प्ले मेकरमा स्याङजाका लक्ष्मण रुचाल घोषित भए उनीहरुले जनही नगद १०/१० हजार रुपैया प्रदान गरिएको क्लवका सचिव पदम गुरुङले जनाए ।
विजयी खेलाडीहरुको टोलीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, क्लवका पुर्व अध्यक्ष विजय गुरुङ, क्लवका अध्यक्ष लक्ष्मि प्रसाद भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए । ८ वटा समुहले सहभागिता जनाएको प्रतियोगितामा एन्फा बाग्लुङ अनुशासित टिम घोषित भएको छ ।
तष्विरःसुमन सुनार