
पोखरा, २३ भदौ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले पोखरा रंगशाला स्थित प्रशिक्षण फुटबल मैदानको मर्मत सम्भार कार्यलाई अघि बढाएकोछ ।
करिब १० वर्ष अघि मुख्य रंगशालाको पश्चिम भागमा रहेको मैदानलाई प्रशिक्षण तथा खेलाडी वर्म–अप ग्राउण्डको रुपमा कास्की एन्फाले आफ्नै खर्चमा बनाएको थियो । तर लामो समय देखि मर्मत सम्भार नहुँदा मैदान कुरुप बनेको थियो ।
राष्ट्रिय खेलकुद परिषदले १३ औं दक्षिण एसियाली खेलकुदलाई मध्येनजर गर्दै मुख्य फुटबल रंगशालाका लागि अन्तिम विडिङको तयारी गरिरहेको बेला कास्की एन्फाले आफ्ना गतिविधी सञ्चलान गर्न यो मैदानको मर्मत सुरु गरेको कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले बताए ।
“हामी कास्की एन्फाको खर्चमा यो मैदानको मर्मत सम्भार सुरु गरेका हौं” अध्यक्ष गुरुङले भने -“संघमा रकम नभए पनि सबै खर्च व्यक्तिगत रुपमा सुरु गरेका हौं ।”
अहिले मैदानलाई सम्याउने, झाडी पन्छाउने, जाली हाल्ने, माटो फिलिङ गर्ने, नाली खन्ने र रङ्ग रोङन गर्ने कार्य सुरु गरेको अध्यक्ष गुरुङले बताए ।