
काठमाडौ, १८ साउन ।
१८ औं एसियाली खेलकुदका लागि थप प्रशिक्षण गर्न नेपाली यु–२३ फुटबल टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गरेको छ ।
थाइल्याण्डका लागि दश दिने प्रशिक्षणमा हिँडेको ३२ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत एन्फा पदाधिकारीहरुले बिदाई गरेका थिए ।
नेपाली फुटबल टोलीको कप्तानी किरण चेम्जोङ्गले गर्दै छन । उनी तीन दिनपछि मात्रै थाइल्यान्ड प्रस्थान गर्ने एन्फाले जनाएको छ । रोहित चन्द भने इन्डोनेसियामै छन् । यसियाडका लागि नेपाली टिमले तीन महिनाअघिबाट सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा तयारी समेत गरिरहेको थियो ।
एसियाली खेल अन्तर्गत अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुने फुटबल खेलमा समूह ‘डी’ मा नेपालले जापान, भियतनाम र पाकिस्तान संग खेल्नेछ । यू २३ मा ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसार नेपालले गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर द्वय रोहित चन्द र विशाल राईलाई समावेश गरेको हो ।
थाइल्याण्डमा प्रशिक्षणको क्रममा नेपालले अगस्ट ७ मा थाइल्यान्डको स्थानिय क्लब र १० अगस्टमा थाइल्यान्डको यु–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको एन्फाले जनाएको छ ।
नेपालको एसियाली यू–२३ टिममा एलेन न्यौपान, सोजित गुरुङ, अनन्त तामाङ, आदित्य चौधरी, अन्जन विष्ट, विमल घर्तीमगर, विराज महर्जन, बिशाल राई, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, जर्र्जिप्रन्स कार्की, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, नवयुग श्रेष्ठ, रविन श्रेष्ठ, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, अभिषेक रिजाल, रहेका छन ।
यसै गरि टिमको प्रशिक्षकमा ग्योतोकु कोजी, प्रशिक्षक बाल गोपाल महर्जन, गोलरक्षक प्रशिक्षकः नविन्द्र महर्जन, दोभासेमा रोसन तुलाधर, म्यानेजरमा बावुकाजी बस्नेत र फिजियोमा राजु दाहाल रहेका छन ।