
पोखरा, १२ साउन ।
अखिल नेपाल फुटबल संघ कास्कीले फुटबल विकास गर्ने उद्धेश्यले पोखरामा शनिबार देखि ग्रास रुट फुटबल सम्बन्धी पहिलो चरणको प्रशिक्षण सुरु गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यक्रम मध्येको एक ग्रास रुट प्रशिक्षण कार्यक्रमले नेपालमा फुटबल बिकासको जग बलियो बनाउने बताइएको छ । एन्फामा नयाँ परिवर्तन संगै फुटबलमा बिकासको एक आधार मध्ये ग्रास रुटलाई बनाइएको छ ।
एन्फाले नेपालको फुटबल बिकासमा नयाँ आयाम थप्न ग्रास रुट कार्यक्रमलाई सबै जिल्लाहरुमा सुरु गर्दैछ ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै नेपाल फुटबल संघका उप–महासचिव विश्व पौडेलले विगतमा अखिल नेपाल फुटबल संघमा भएका कमि कमजोरीहरुलाई औल्याउने भन्दा पनि अब नेपालको फुटबल विकासमा सबै एक जुट भएर लाग्नु पर्ने सुझाए ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष गुरुङले बाल–बालिकालाई फुटबलको आधारभूत प्रशिक्षण दिए मात्रै फुटबलको विकास सम्भव हुने बताए । अध्यक्ष गुरुङले यही कुरालाई मध्यनजर गरेर एन्फाले ग्रास रुट कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताए ।
अखिल नेपाल फुटबल संघमा नयाँ नेतृत्व आए देखि फुटबल विकास गर्ने उद्धेश्यले ग्रास रुट फुटबल ट्रेनिङ संबन्धी जानकारी विभिन्न ठाउँमा दिदै आएको एन्फा कास्कीका सचिव प्रितम गुुरुङले बताए ।
पोखरा १२ शितलदेविमा रहेको हिलप्वाइन्टमा सम्पन्न भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, वडा नं.१२ का प्रतिनिधि वडा अध्यक्ष राम बहादुर कार्की र स्थानिय शितलज्योति युवा क्लबका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा फुटबल प्रशिक्षक शम्भु केसी ग्रास रुट प्रशिक्षण फेटबल बिकासका लागि मुख्य जग भएको बताए । सो अबसरमा एन्फा कास्कीका उपाध्यक्ष जगत थापा र कास्की ग्रास रुटका कार्यक्रमका संयोजक तथा उपाध्यक्ष चन्द्र गुरुङले समेत आफ्नो धारणा राखेका थिए ।
सो अबसरमा फुटबल प्रशिक्षक किरण श्रेष्ठले फुुटबल प्रशिक्षण संबन्धी आधारभुत प्रशिक्षण प्रस्तुत गरेका थिए । पहिलो चरणमा कास्की एन्फाले कास्कीका विभिन्न विद्यालयका ३७ विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण दिएको एन्फा कास्कीका महासचिव रमेश कार्कीले बताए ।