
अर्जुन कार्की
बागलुङ, ३२ असार
एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा छात्र तर्फको उपाधि सिदार्थ शिक्षा सदन र छात्रा तर्फको उपाधि अमर आदर्श माविले जितेको छ ।
सोमबार भएको दुवै फाइनल खेलमा छात्र तर्फ सिदार्थले साविक विजेता चिल्ड्रेन लाईफलाई र छात्रा तर्फ अमर आदर्श माविले कालिगण्डकी बोर्डिङलाई पन्छाउँदै उपाधि चुमेका हुन ।
छात्र तर्फको खेलमा सिदार्थले चिल्ड्रेन लाइफसँग गतवर्षको प्रतियोगितामा फाइनलमा बेहोरोको हारको बदला लिएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा सिदार्थले एक गोलले पछि परेको अवस्थामा कमव्याक गर्दै ३–१ गोलअन्तरको जित निकाल्न सफल भएको थियो ।
६० मिनेटको खेलाईएको खेलमा पहिलो हाफमा दुवै टिम गोलरहित बराबरीमा रहेपछि दोस्रो हाफमा चिल्ड्रेन लाईफले गोलको सुरुवात गरेको थियो । खेलको ३४ औं मिनेटमा चिल्ड्रेनका फरवार्ड राजिव श्रीसले गोल गरेका थिएभने सिदार्थको लागि खेलको ५७ औं मिनेटमा कप्तान युवेश थापाले काउन्टर अट्याकमा गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए ।
कप्तान युवेशले सिदार्थको लागि खेलको अतिरिक्त समयको १ औं मिनेटमा र ओम मगरले ५ औं मिनेटमा ओम मगरले गोल गर्दै जितको आधार तयगरेका थिए । जिल्लाका १६ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा उपाधि चुमेको सिदार्थले नगद १५ हजार सहित प्रदेशस्तरमा हुने एन्फा कप फुटबल प्रतियोगिताको लागि छनोट भएको छ ।
यस्तै उपविजेतामा चित्त बुझाएको चिल्ड्रेन लाईफले नगद ८ हजार प्राप्त ग¥यो । यस्तै सोमबार नै भएको छात्रा तर्फको फाइनल खेलमा अमर आदर्शले कालिगण्डकी बोर्डिङलाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको छ । अमरको जितको लागि खेलको दोस्रो र ७ औं मिनेटमा ज्ञानु केसी र ११ औं मिनेट र १२ औं मिनेटमा सुमिना केसीले गोल गरेकी थिइन ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको छात्रा तर्फको फुटबल प्रतियोगितामा ३ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रमअनुसार संचालन भएको हो ।