पोखरा स्पोर्टस । पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल गरिएको छ।
विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ कि.मी लम्बाइको लेक टु लेक जोड्ने साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरेका छन् ।
“‘यसले संसार भरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ,” उनले भने, “पोखराको पर्यटन विकासमा यो महत्त्वपूर्ण कोषे ढुङ्गा साबित हुनेछ ।” पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षण प्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उनले विश्वास व्यक्त गरे ।
विकास साझेदार एसियाली विकास बैङ्कको करिब १ अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । पोखराको दिगो पर्यटन विकास अन्तरगत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको हो । प्रारम्भिक चरणमा सुरु गरिएको यसमाथिको छलफलमा पोखरामा रहेका पर्यटन लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
यो सम्झौता भए संगै पोखरामा रहेका तालहरूलाई एक आपसमा (भित्र पर्ने गरी र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी भित्री र बाहिरी दुई वटा भिन्न रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्ट रुटहरूको समेत निर्माण गर्दा करिब ८५ कि.मी लम्बाइको साइकल ट्र्याक निर्माण हुनेछ ।
