पोखरामा इन्ड्युरो रेस सुरू : ‘साहसिक खेलले नयाँ आयाम ल्याउँछ’– मन्त्री थापा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् ।

पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा सुरू भएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’को उद्घाटन गर्दै उनले उक्त प्रतियोगिता नेपालको खेलकुद क्षेत्र र पर्यटन प्रवर्द्धधनका लागि कोशे ढुङ्गा बन्ने उल्लेख गरे ।

“पोखरा १३ मा आयोजित इन्ड्युरो अन्तर्राष्टिय माउन्टेन बाइक प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रिय स्तरका साहसी खेलाडीहरूलाई एउटै मञ्चमा ल्याई साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ ।”, उनले भने । मन्त्री थापाले यस्ता गतिविधिले पोखराको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाउनमात्र नभई स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पोखरालाई खेलकुद र साहसिक पर्यटनको केन्द्र बनाउन उक्त प्रतियोगिता निरन्तर भइराख्नुपर्ने धारणा उनको छ ।

पोखराको मात्र नभई समग्र देशको साहसिक पर्यटन प्रवर्द्धनमा यस्ता प्रतियोगिता मार्फत टेवा पुग्ने बताउँदै मन्त्री थापाले पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले समेत लगानी गरिरहेको र आगामी समय पनि सहकार्य समर्थन गर्न तयार रहेको बताए ।

खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई समेत प्राथमिकतामा राख्न मन्त्री थापाले अनुरोध गरे ।

उनले पोखरा १३ मा आयोजना गरिएको उक्त प्रतियोगिताले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र साना व्यवसायलाई टेवा पुग्ने उल्लेख गर्दै ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न र आर्थिक गतिविधि बढाउन प्रतियोगिता मार्फत सहयोग पुग्ने विश्वास बताए ।

पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले पोखरा १३ मा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । समुद्री सतहदेखि १४ सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडामा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुग्ने उनले बताए ।

“हाम्रो वडा १३ जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यस क्षेत्रलाई साहसिक खेलकुदको केन्द्र बनाउने लक्ष्यमा यो कार्यक्रमले ठूलो सहयोग पु¥याएको छ ।”, उनले भने ।

आगामी दिनहरूमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिन र वडाको विकासमा योगदान गर्न आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता समेत उनले जनाए ।

प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार इलिट जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी मंसिर १२ देखि १४ गते सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close