
पोखरा स्पोर्ट्स । नेपालले आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार युएईलाई ३७ रनले पराजित गरेर नेपालले विजयी शुरुवात गरेको हो ।
नेपालले दिएको २०१ रनको लक्ष्य पछाएको युएईले ४८.२ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो ।
युएईका लागि हर्प्रित सिंहले सर्बाधिक ३९ रन बनाए भने कप्तान मुहमद वासीमले ३४ र आकाशदीप नाथले ३० रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर करण केसीले ४ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४८.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ सेख र सोमपाल कामीले १५-१५ रन बनाएका थिए । त्यस्तै युएईका बलर अजय कुमार र जुनैद सिद्धिकीले ३-३ विकेट लिएका थिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए । त्यस्तै हैदर अली र मुहमद शहदादले एक एक विकेट लिएका थिए ।
यो जितपछि नेपालको लिग-२ मा २१ खेलमा १४ अंक रहेको छ र नेपाल हाल सातौं स्थानमा छ । त्यस्तै युएईको २१ खेलमा १० अंक रहेको छ । अब सिरिज अन्तर्गत अर्को खेल सोमबार युएई र ओमानबीच हुदैछ ।
