
पोखरा स्पोर्ट्स । कास्की जिल्ला शारीरिक सुगठन संघले शनिबार पोखरामा आयोजना गरेको ‘मिट दि ग्रिट’ कार्यक्रममा सहभागी जिम सञ्चालकहरूले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । कास्कीभर छरिएर रहेका जिम हल सञ्चालकहरूलाई एकै मञ्चमा ल्याउँदै शारीरिक सुगठन खेलको विकास, विस्तार र प्रवर्द्धनसँगै व्यवसायलाई व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्ने जिम सञ्चालकहरूले व्यवसायसँगै खेलकुद विकासमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै व्यक्तिगत स्वास्थ्य सुदृढ बनाउन जिमहरूलाई अझ व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए । बढ्दो शहरीकरणसँगै जिम जानेको संख्या वृद्धि भइरहेकाले दक्ष तथा तालिमप्राप्त ट्रेनरको आवश्यकता झनै बढ्दै गएको उनीहरूको भनाइ थियो ।
सो अवसरमा यूके इन्टरनेशनल बोडीबिल्डिङ लिगका अध्यक्ष गंगा बहादुर गुरुङले कार्यक्रमको प्रशंसा गर्दै यसलाई सकारात्मक सुरुआतको रूपमा लिए । “यो राम्रो सुरुआत हो । यहाँहरूले खेलकुद विकाससँगै जिम हलहरूको व्यवस्थित सञ्चालनका लागि बनाएको योजनाले स्वस्थ जीवन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ,” उनले भने ।
संघका संरक्षक तथा बुल्समेन क्लबका अध्यक्ष नुना गुरुङले छोटो समयमै संघले थालेको पहल सराहनीय रहेको बताए। उनले शारीरिक सुगठन खेल स्वास्थ्यसँग मात्र नभई रोजगारी सिर्जनासँग पनि प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएको उल्लेख गरे ।
संघका अध्यक्ष लेख बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कास्कीका जिम सञ्चालकहरूलाई एकीकृत गर्ने लक्ष्यसहित विभिन्न गतिविधिमार्फत युवाहरूमा खेलप्रति आकर्षण बढाउने र जिम सञ्चालनमा दक्ष ट्रेनरको भूमिकालाई सुदृढ बनाउने उद्देश्य रहेको जानकारी दिए ।
जिम सञ्चालक दीपक बास्तोलाले पोखरामा परिवारका सबै सदस्य जिम जाने चलन बढ्दै गएको उल्लेख गर्दै व्यवस्थित र गुणस्तरीय जिम सञ्चालन आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा छैटौँ धर्मश्रीका विजेता जीवन गिरी, राष्ट्रिय खेलाडी कमलराज भण्डारी, मल्टी बिजनेस कन्सर्नका उत्तम सिलवाल, संघका कोषाध्यक्ष तथा ट्रेनर ध्रुव सुनार र सचिव निरज तिवारीलगायतले मन्तव्य राख्दै ग्रासरुट तहबाट खेलाडी उत्पादनका लागि यस्ता कार्यक्रमको महत्व औंल्याए ।
यसैबीच, आगामी २०८३ भदौ १३ गते कास्कीमा ‘प्रथम कास्की जिल्ला स्तरीय मिस्टर एन्ड मिस बोडीबिल्डिङ तथा मेन्स फिजिक र वुमेन्स वेलनेस’ प्रतियोगिता आयोजना गर्ने तयारी रहेको जानकारी पनि गराइएको छ । कास्कीमा हाल ६२ भन्दा बढि जिमहरु सञ्चालनमा रहेको तथ्याङ्क रहेको छ । संघले त्यहाँ कार्यरत ट्रेनरहरुलाई दक्ष बनाउन पहिलो चरणमा प्राथमिक उपचारको प्रशिक्षण समेत दिने भएको छ ।