
पोखरा स्पोर्ट्स । फिफा र एफसीले अखिल नेपाल फुटबल संघ (एन्फा)को वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आफ्नो निर्णय (निलम्बन) फिर्ता लिन आग्रह गरेका छन् ।
फिफा र एएफसीले हिजो (बुधबार) एन्फाका महासचिव किरण राईलाई पठाएको संयुक्त पत्रमा १३ अप्रिलमा राखेप, एन्फा, एएफसी र फिफाबीच भएको अनलाइन बैठक तथा सोही मितिको राखेपको पत्रलाई सन्दर्भका रूपमा उल्लेख गरिएको छ ।
पत्रमा बैठकका क्रममा भएको खुला र रचनात्मक संवादको प्रशंसा गर्दै सबै पक्षबीच अर्थपूर्ण छलफलमा देखिएको तत्परताको सराहना गरिएको छ । तर, राखेपले २५ मार्च २०२६ मा गरेको निर्णयप्रति फिफा र एएफसीले असहमति जनाएको स्पष्ट पारेका छन् ।
उक्त निर्णयमार्फत एन्फालाई जारी निर्वाचन प्रक्रिया रोक्न, विधान संशोधन गर्न तथा जिल्ला संघहरूलाई आफ्ना विधान संशोधन गरी चुनावी साधारण सभा गर्न निर्देशन दिइएको थियो । फिफा र एएफसीका अनुसार यसले एन्फाको स्वायत्तता र नियमित गतिविधिमा गम्भीर असर पारेको पत्रमा जनाइएको छ ।
पत्रमा यस्तो कदमलाई ‘तेस्रो पक्षीय हस्तक्षेप’को रूपमा व्याख्या गर्दै यो फिफा र एएफसीका सदस्य संघका रूपमा एन्फाको दायित्व विपरीत कदम भएको स्पष्ट गरिएको छ ।
फिफा र एएफसीले राखेपलाई आफ्नो निर्णय पुनर्विचार गरी ४ मे २०२६ भित्र फिर्ता लिन आग्रह गरेका छन् । साथै,पत्रमा सबै सरोकारवालाबीच सहमति खोज्न रचनात्मक संवाद अघि बढाउन आफूहरू तयार रहेको जनाइएको छ ।
पत्रमा एन्फालाई उक्त विषय सम्बन्धित निकायहरूमा जानकारी गराउन तथा आगामी विकासक्रमबारे फिफा र एएफसीलाई अद्यावधिक गराइरहन पनि अनुरोध गरिएको छ ।

