पीएम कपका खेल टियु क्रिकेट मैदानमा नहुने

पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघ (क्यान)ले आठौं संस्करणको प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताका त्रिवि क्रिकेट मैदानमा हुने खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा सारेको छ  ।

क्यानले टियु क्रिकेट मैदानमा आइसीसी विश्वकप लिग–२ को लागि स्तरोन्नतिको काम गर्नुपर्ने भएको भन्दै पीएम कपका खेलहरु तल्लो मूलपानी मैदानमा सारिएको जानकारी दिएको छ । यसअघि टियु क्रिकेट मैदानमा ५ खेल हुने गरी तालिका सार्वजनिक गरिएको थियो । अब ती खेलहरु तल्लो मूलपानी मैदानमा हुने भएका छन् ।

त्यसबाहेक माथिल्लो मूलपानी मैदानमा ५ र अन्य खेलहरु जनकपुर र पर्सामा हुने गरी तालिका सार्वजनिक भएको थियो । प्रधानमन्त्री कप २०८२/८३ को संस्करण ४ वटा स्थानमा हुनेछन् । काठमाडौंका २ मैदान र जनकपुर र पर्सामा गरी ४ स्थानमा प्रधानमन्त्री कप सञ्चालन हुनेछ । 

क्यानले प्रतियोगिता चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुनेगरि तालिका सार्बजनिक गरिसकेको छ । 

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् ।

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्  । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close