
पोखरा स्पोर्ट्स । पोखरा रंगशालामा पहिलो पटक तातो तथा चिसो पिउने पानीको अटोमेटिक डिसपेन्सर मेशिन जडान गरिएको छ । पोखरा उद्योग बाणिज्य संघको सहयोगमा करिब रु १ लाख ५० हजारको लागतमा जडान गरिएको उक्त मेशिनको बिहीबार परीक्षण समेत गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले जानकारी दिएका हुन् ।
मेशिन सञ्चालनमा आएसँगै खेलाडी तथा रंगशाला आउने आगन्तुकहरूलाई शुद्ध पिउने पानीको अभाव नहुने अध्यक्ष गुरुङले बताएका छन् । उनले भने, “अब मिनरल वाटरको बोतल बोकेर रंगशाला आउनुपर्ने अवस्था रहने छैन । शुद्ध र ढुक्कले पिउन मिल्ने पानीको मेशिन जडान भएको छ । यस महत्वपूर्ण सहयोगका लागि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की ज्यूप्रति आभार व्यक्त गर्दछु ।” उनका अनुसार अब खेलाडीहरू रंगशाला आउँदा खाली बोतल लिएर आए पुग्नेछ ।
एक पटकमा ६ हजार लिटर शुद्ध पानी वितरण गर्न सक्ने क्षमता रहेको उक्त मेशिन अन्नपूर्ण ट्रेडिङले निर्माण गरेको हो । यसअघि १३औं दक्षिण एशियाली खेलकुदका अवसरमा विभिन्न दाताबाट प्राप्त पानीका ट्याङ्कीहरूलाई पनि जिल्ला खेलकुदले व्यवस्थित गर्दै रंगशालाका विभिन्न स्थानमा पहुँच हुने गरी राखेको अध्यक्ष गुरुङले जानकारी दिए ।
यसैगरी, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष कार्कीले रंगशाला परिसरमा बस्न सहज होस् भन्ने उद्देश्यले ५ थान फलामे कुर्सी समेत व्यक्तिगत रुपमा निःशुल्क उपलब्ध गराएका छन् ।
सो जाडित मेशिनलाई सुरक्षित राख्न छत समेत बनाइएको छ भने केही दिनमा नै उद्घाटन समेत गर्ने तयारी भइरहेको अध्यक्ष गुरूङले पोखरा स्पोर्ट्सलाई बताए ।
अध्यक्ष गुरुङका अनुसार रंगशालाको अर्को स्थानमा पनि यस्तै प्रकारको मेशिन जडान गर्ने तयारी भइरहेको छ । साथै, रातिको समयमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन रंगशाला भित्रका पोलहरूमा बत्ती जडान गर्ने कार्य पोखरा महानगरपालिका वडा नं १०को सहयोगमा अगाडि बढाइने भएको छ ।
