
पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले समूह चरण पार गरी सुपर आठमा पुगेका टोलीहरूले सन् २०२८ मा अस्ट्रेलिया र न्यूजिल्याण्डमा आयोजना हुने पुरुष टी-२० विश्वकपमा स्वतः स्थान पाउने जानकारी दिएको छ ।
पाकिस्तानले नामिबियामाथि जित हात पारेसँगै सुपर आठका सबै टोलीको टुंगो लागेको छ । समूह ‘ए’ बाट पाकिस्तान र भारत, समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बाब्वे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ल्यान्ड तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर आठमा प्रवेश गरेका छन् ।
सह-आयोजक राष्ट्र भएकाले अस्ट्रेलिया र न्यूजिल्याण्ड २०२८ को विश्वकपमा प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
यसरी सुपर ८ मा पुगेका आठ देश र सुपर आठबाट बाहिरिएको अस्ट्रेलिया आयोजकका रुपमा गरेर ९ देशले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् । यसैगरी जारी विश्वकप सकिएको अर्को दिन मार्च ९ मा सार्वजनिक हुने टोली वरियताको आधारमा शीर्ष तीन स्थानमा रहने टोलीले पनि स्वतः सहभागिता पाउनेछन् ।
हालको अवस्थाअनुसार बङ्गलादेश, अफगानिस्तान र आयरल्याण्ड ती स्थानमा रहने सम्भावना प्रबल रहेको छ, किनकि वरियतामा परिवर्तन ल्याउने कुनै अन्तर्राष्ट्रिय खेल यस बीचमा रहेका छैनन् ।
२० टोली सहभागी हुने प्रतियोगिताका बाँकी आठ स्थान भने क्षेत्रीय छनोट प्रतियोगितामार्फत निर्धारण गरिने आइसीसीले जनाएको छ ।
