
पोखरा स्पोर्ट्स । जारी पीएम कप एक दिवशिय क्रिकेटमा अर्जुन कुमालको शतकीय पारीमा गण्डकी प्रदेशले जित निकालेको छ । जारी प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो । गण्डकीले यस अघी एपिएफ क्लबलाई पराजित गरेको थियो ।
आजको खेलमा टस जितेर मैदान व्याटिङका लागि उत्रिएको गण्डकीका लागि अर्जुन कुमालको धैर्यपूर्ण शतकिय पारीमा गण्डकीलाई जिततर्फ उन्मुख गराए । नटआउट रहँदै गण्डकीको लडखडाएको पारीलाई अघी बढाउने क्रममा उनले १४१ बलमा ८ चौकाको मद्धतमा १०२ रन बनाए ।
५० ओभरको पारी सकिनु अघी गण्डकी ७ विकेटको क्षतीमा २२७ रन बनायो । खेलमा अर्जुन प्लेयर अफ दि म्याच बने । गण्डकीले खेल ३९ रनले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । गण्डकीले आफ्ना ६ खेलमा चारमा हार र दुईमा जित हात पारेको छ । यता कोशी भने कुनै खेल जित्न सकेको छैन ।
४६ रनमै ६ विकेट गुमाएर संकटमा परेको गण्डकीलाई कप्तान विपिन खत्री र अर्जुन कुमालले उद्धार गरे । सातौँ विकेटका लागि मैदान प्रवेश गरेका विपिनले ८६ बलमा ७६ रन जोडे । उनले २ छक्का र ६ चौका प्रहार गर्दै इन्ङ्स ठूलो बनाए। दुवैले मिलेर १६७ रनको महत्वपूर्ण साझेदारी गर्दै गण्डकीलाई सम्मानजनक स्कोरसम्म पुर्याए ।
कोशीका लागि दिपेश कँडेलले १० ओभरमा १८ रन दिएर ४ विकेट लिए ।
यता जवाफी व्यटिङका लागि आएको कोशी पुरै ५० ओभर खेल्दै १८८ रन मात्र बनाउन सक्यो । कोशीका लागि दिपेश कँडेलले ५२ रन बनाए । गण्डकीका बलर सिव्रीन श्रेष्ठले ३ विकेट लिए भने सुभाष भण्डारी र अपराजित पौडेलले समान २–२ विकेट तथा विपिन खत्री र कमल परियारले समान १–१ विकेट लिए ।
प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् ।
‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्नेछन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ ।
एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।
