गण्डकी र कास्की सुटिङ संघको साधारण सभा सम्पन्न, २ करोड ५० लाखको सामग्री र प्राविधिक सहयोग गर्ने अध्यक्ष श्रेष्ठको घोषणा

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश सुटिङ संघ तथा कास्की जिल्ला सुटिङ संघको संयुक्त वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सत्रमा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले सुटिङ खेलको विकास र प्रवर्द्धनका लागि पहिलो चरणमा २ करोड ५० लाख रुपैयाँ बराबरको खेल सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले पोखरा रंगशालामा निर्माण भइरहेको सुटिङ हलको खुलेर प्रशंसा गरे । गण्डकी प्रदेश र कास्की सुटिङ संघको प्रयासले नेपाली सुटिङ खेलको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उनले अपेक्षाभन्दा धेरै राम्रो र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पूर्वाधार निर्माण भइरहेको बताए । उनले भने, “मैले त सुरुमा यति ठूलो सम्भावना देखेको थिइनँ । सानो हल बन्ने होला भन्ने लागेको थियो, तर यहाँ त अन्तर्राष्ट्रियस्तरको पूर्वाधार बन्दै रहेछ । म आफू नै दङ्ग परेको छु ।”

पोखरा रंगशालामा निर्माणाधीन सुटिङ हल पूरा भएपछि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सहज हुने बताउँदै अध्यक्ष श्रेष्ठले निर्माण सम्पन्न लगत्तै पोखरामै राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरिने घोषणा गरे । सुटिङ खेल नेपाली खेलकुद क्षेत्रमा उच्च सम्भावना बोकेको खेल भएको उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहमा खेलाडी उत्पादनका लागि संघले खेल सामग्रीसँगै प्राविधिक सहयोगसमेत गर्ने स्पष्ट पारे । पोखरालाई सुटिङ खेलको ‘हब’ का रूपमा विकास गर्न सके राष्ट्रिय तथा प्रदेशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल सुटिङ संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले सुटिङ खेलको विकासका लागि केन्द्रीय संघ सधैं सहयोगका लागि तयार रहेको बताए ।

गण्डकी प्रदेश सुटिङ संघका अध्यक्ष मोतीराम गुरुङले कठिन परिस्थितिका बीच पोखरा रंगशालामा सुटिङ हल निर्माण सुरु गरिएको उल्लेख गर्दै यसलाई सम्पन्न गर्न विभिन्न क्षेत्रसँग सहयोगको अपिल गरिएको जानकारी दिए ।

संघका महासचिव पुरन कुँवरले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सुटिङ हल निर्माण सम्पन्न गर्न करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । हालसम्म कास्की जिल्ला र गण्डकी प्रदेश सुटिङ संघबाट संकलित करिब १८ लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । प्रशिक्षण स्थल र खेल सामग्रीको अभावमा खेलाडी पलायन हुने अवस्था रहेकाले हल निर्माण संघको ठूलो प्राथमिकता भएको उनले बताए ।

कास्की जिल्ला सुटिङ संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कास्की सुटिङ खेलको उर्वर भूमि भएको उल्लेख गर्दै सुटिङ हल निर्माण सबैको सहकार्यबाट सम्भव भएको बताए । उनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै निर्माण कार्यलाई पूर्णता दिन अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखरा युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले आफ्नो क्लब सामाजिक, शिक्षा, स्वास्थ्यसँगै खेलकुद क्षेत्रमा पनि सक्रिय रहेको उल्लेख गर्दै सुटिङ हल निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए ।

साधारण सभामा नेपाल सुटिङ संघकी केन्द्रीय उपाध्यक्ष रोशनी मानन्धरसहित सुटिङ हल निर्माण समितिका संयोजक डोलराज पुन, बागलुङ जिल्ला सुटिङ संघका अध्यक्ष पवनराज राजभण्डारी लगायतले सुटिङ हल निर्माणले गण्डकी प्रदेशमा सुटिङ खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close