
पोखरा स्पोर्ट्स । नेपाली सेपाकताक्रो टोली श्रीलंकामा आयोजना हुने छैटौँ दक्षिण एसियाली (साग) सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको छ । श्रीलंकन सेपाकताक्रो महासंघको निमन्त्रणामा खेलाडी तथा अफिसियल गरी १५ सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतियोगिता फेब्रुअरी ६ देखि १०, २०२६ सम्म श्रीलंकाको राजधानी कोलम्बोमा सञ्चालन हुनेछ । श्रीलंका प्रस्थान गर्नु अघि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा आयोजित एक कार्यक्रमका बीच सदस्य सचिब रामचरित्र मेहताले नेपाली टोलीलाई शुभकामनासहित बिदाई गरेका थिए ।
नेपाली टोलीमा रोशन तामाङ, दिपेश जंग थापा, राजन नेपाली, विकास कुमाल, रबिन भट्टराई, सुमित्रा डंगोल, चन्द्र चौधरी, एनु चौधरी, उषा महर्जन र पायल शाही खेलाडीको रूपमा रहेका छन् ।
त्यसैगरी श्याम बहादुर श्रेष्ठ र अकल बहादुर तामाङ टिम म्यानेजरका रूपमा तथा टेक बहादुर बुढा मगर र नर बहादुर थापा टिम कोचको जिम्मेवारीमा छन् । नेत्र प्रसाद गुरुङ अफिसियलका रूपमा टोलीमा समावेश छन् ।
राखेपले यस प्रतियोगितामा नेपालको सहभागिताले नेपाली खेलकुदको विकास र अन्तर्राष्ट्रिय सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
