
पोखरा स्पोर्ट्स । पोखरा क्रिकेट मैदानमा सम्पन्न कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ को तेस्रो दिन कास्की क्रिकेट क्लब (कास्की सीसी) ले लेखनाथ क्रिकेट क्लब (लेखनाथ सीसी) लाई २७३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको कास्की सीसीले शानदार प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४९ रन बनायो । कास्की सीसीको इनिङ्समा सोहेल कुँवरले उत्कृष्ट शतक प्रहार गर्दै ९५ बलमा ११० रन बनाए । उनलाई समासुद्धिन अन्सारीले ३१ बलमा ५० रन र रोहित चन्द ले २८ बलमा ५० रन जोड्दै सशक्त साथ दिए ।
लेखनाथ सीसीका लागि बलिङतर्फ सुबास बास्तोलाले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट, कृपेश पौडेलले २ विकेट (३९ रन) तथा सज्जन क्षेत्रीले १ विकेट लिए ।
३५० रनको विशाल लक्ष्य पछ्याएको लेखनाथ सीसी २७.४ ओभरमा मात्र ७६ रनमा अलआउट भयो । टोलीका लागि प्रताप थापाले ३८ बलमा १६ रन बनाए भने देउनारायण यादव ले ११ रन जोडे ।
कास्की सीसीको बलिङ आक्रमणमा विश्वास पराजुली चम्किँदै ८ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । साथै रोहित चन्द र अर्जुन कुमालले समान १–१ विकेट हात पारे ।
उत्कृष्ट शतकका लागि सोहेल कुँवर लाई प्लेयर अफ द म्याच घोषित गरिएको छ । यस जितसँगै कास्की सीसीले प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
