सातौं सृजनाकप छात्र/छात्रा भलिबल पोखरामा सुरू (भिडियो सहित)

पोखरा स्पोर्ट्स । सातौं संस्करणको सृजनाकप छात्र/छात्रा भलिबल प्रतियोगिता मंगलबारबाट पोखरामा सुरू भएको छ । सृजना विकास केन्द्रको आयोजनामा सामुदायिक विद्यालय कास्की जिल्लास्तरीय प्रतियोगिताको पहिलो दिन ७ खेल सम्पन्न भएका छन् ।

प्रतियोगिता अन्तर्गत छात्रतर्फ ४ र छात्रातर्फ ३ गरी ७ खेल सम्पन्न भएको आयोजकले जनाएको छ । गत सस्करणमा दोहोरो उपाधि बिजेता शान्ता माविले पहिलो चरणका खेलमा छात्र/छात्रातर्फ जित निकालेको छ । पहिलो दिन छात्रतर्फ विरेठाँटी मावि, जनप्रिय मावि र भद्रकाली माविले आ–आफ्नो खेल जित्दा छात्रातर्फ छोरेपाटन र कालिका माविले जित हासिल गरेका छन् ।

सो प्रतियोगिताको एक कार्यक्रमका बीच गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरे ।

सो अवसरमा बोल्दै मन्त्री थापाले यस प्रकारका प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउँदै प्रशंसा गरे । पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्रको आवश्यक मर्मत सुधारका लागि प्रदेश सरकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै खेल जित र हार भन्दा पनि शारिरिक र मानसिकरुपमा बलियो हुन अपरिहार्य रहेको जनाए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले सृजना कप युवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण प्रतियोगिता रहेको औंल्याउँदै यहि प्रतियोगिताले नै राष्ट्रिय खेलाडी उदय समेत भइसकेको जनाए । उनले आगामी माघ ९ गतेबाट पोखरामा आयोजना हुने छैटौं संस्करणको टाइगर कपको तयारी सुरू भएको जनाउँदै सहकार्यका लागि सबै सँग आग्रह समेत गरे ।

सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङ, केन्द्रका सल्लाहकार समितिका सभापती लिलाधर बराल, पोखरा उद्योग वाणिज्य संघका महासचिब सोभा गौतम, सृजना विकास केन्द्रका मिनप्रसाद भट्टराई लगायतले आ–आफ्ना भनाई राख्दै प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ ७ टिम गरी कुल २३ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेता छात्ररछात्रा टिमले समान नगद रु १–१ लाख, उपविजेताले ६०–६० हजार तथा तेस्रो हुने टिमले समान नगद रु ३५–३५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य उत्कृष्टहरुले खेल सामाग्री प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताले युवा खेलाडी उत्पादनको लक्ष्यसहित आयोजना गरीएको आयोजक सृजना विकास केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close