कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड एक दिन अघि सर्‍यो, पौष १७ गते हुने

पोखरा स्पोर्ट्स । १६औं कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पौष १७ गते हुने भएको छ ।

यस अघि जिल्ला खेलकुदले सो प्रतियोगिता पौष १८ गते तय गरेको थियो । कास्कीमा नजिकिंदै गएको परिक्षाका कारण एक दिन अघि सारिएको जिल्ला खेलकुद कास्कीमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका डिबी नेपालीले जानकारी दिएका छन् ।

प्रतियोगिताको तयारी गर्न सोमबार कास्की जिल्ला समन्वय समितिका अध्यक्ष एवं कास्की जिल्ला राष्ट्रपति रनिङ्ग शिल्डका प्रमुख सल्लाहाकार लिलाधर पौडेलको अध्यक्षतामा कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना १६औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत भलिबल, कवड्डी, र एथलेटिक्स तर्फका खेलहरु हुनेछन् ।

प्रतियोगिता अन्तर्गत भलिबलतर्फ कास्कीका ५ पालिका, कबड्डीतर्फ रुपा बाहेक ४ पालिका तथा एथलेटिक्सतर्फ सबै पालिकाहरुको सहभागिता हुनेछ । प्रतियोगितामा ५ पालिकाका ५ खेलका २७० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

पौष १७ गते खेलाडीहरुको मार्चपास सँगै उद्घाटन कार्यक्रम हुने छ भने प्रतियोगिताहरु समेत सोही दिन सम्पन्न गर्ने गरी तय गरिएको छ ।

यस्तै मार्शलआर्टस तर्फ भने अन्य पालिकामा स्पर्धाहरु नभएका कारण पोखरा महानगर पालिकास्तरीय प्रतियोगितामा छनौट हुन सफल खेलाडीहरु सोझै प्रदेशमा सहभागिता जनाउन पाउने भएका छन् ।

जिल्ला खेलकुदले अन्तिम चरणको खेलाडी छनौट गर्न जिल्ला खेलकुद विकास समितिका सदस्य रामचन्द्र गिरीलाई संयोजनको जिम्मेवारी दिएको छ ।

१५औं संस्करणमा पोखरा महानगरले राष्ट्रपति रनिङ शिल्ड आफ्नो पक्षमा पारेको थियो भने प्रदेशस्तरीय प्रतियोगितामा कास्कीले रनिङ शिल्ड जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close