
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोको एक दिने ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ)को आयोजना तथा गण्डकी प्रदेश आइटिएफ तेक्वान्दोको सहकार्यमा सो कार्यक्रम पोखरामा शनिबार सम्पन्न भएको हो ।

यस अघि सो कार्यक्रमको उद्घाट्न गर्दै गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले राज्यले नेपाली खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न र योगदानका आधारमा बजेट निर्धारण गर्न आवश्यक रहने कुरामा जोड दिएका छन् ।
सांसद बरालले सरकारले खेलकुदलाई अझै बुझ्न नसकेको प्रति इङ्गित गर्दै आम जनमानसको जस्तै आफ्नो पनि त्यस्तै बुझाई रहेको बताउँदै भने–“सरकारले खेलकुदलाई बुझ्न सकेन । म सांसदको हैसियतले पटक–पटक झक्–झक्याउने प्रयास गरेको छु । तर त्यो पनि प्राप्त हुन सकेको छैन । राइट मेन इन राइट प्लेस हुने हो भने आगामी दिनमा खेलकुदले पक्कै फड्को मार्छ भने बजेट समेत सोही आधारमा राज्यको ध्यान जान आवश्यक छ ।”
यति बेला नेपाली खेलकुदमा स्वरोजगार समेत बन्न सक्ने गरी अघि बढेकोसँगै नेपाली खेलाडी उत्पादनमा अभिभावकहरुको समेत उत्तिकै भूमिका रहेको बताउँदै खेलाडीहरु अनुशासित र मर्यादित बन्दै आफ्नो शिक्षामा समेत ध्यान दिन सांसद बरालले आग्रह गरे ।
आइटिएफ तेक्वान्दोका केन्द्रिय अध्यक्ष प्रविन कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महासचिब घम बहादुर थापाले केन्द्रिय वार्षिक कार्यक्रम अन्तर्गत सातै प्रदेशमा यस प्रकारका गतिविधिहरु अघि बढाइएको बताउँदै अव राष्ट्रियस्तरको प्रतियोगिताको घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
सो अवसरमा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, खेलपत्रकार केशव पाठकलगायतले आफ्ना भनाई राख्दै गण्डकी प्रदेशमा अग्रणीस्थानमा रहेको आइटिएफ तेक्वान्दो खेलको विकासका लागि सम्वन्धित निकायहरुको ध्यान आवश्यक रहेको कुरा औंल्याएका थिए ।
आइटिएफ तेक्वान्दो ब्ल्याक बेल्ट १,२, र ३ डान बेल्ठ ग्रेडिङका लागि गण्डकी प्रदेशका ६ जिल्लाका १ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको प्रशिक्षक आकाश घर्ती मगरले जानकारी दिए ।
