रोड टु एलए ओलम्पिक २०२८ : ओलम्पिक एथलिट स्कलरसिप कार्यक्रम कार्यान्वयनमा

पोखरा स्पोर्ट्स । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रोड टु एलए ओलम्पिक खेल २०२८ पहललाई १९ डिसेम्बर २०२५ मा काठमाडौँमा औपचारिक रूपमा घोषणा तथा हस्ताक्षर गर्दै कार्यान्वयनमा ल्याएको छ । यो पहल नेपालका शीर्ष खेलाडीहरूको दीर्घकालीन उच्च प्रदर्शन विकास यात्रामा एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

ओलम्पिक एथ्लिट स्कलरसिप कार्यक्रमअन्तर्गत विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै आएका आठ जना खेलाडीलाई छनोट गरिएको छ । उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, उच्चस्तरीय प्रशिक्षण तथा जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित मासिक आर्थिक सहायता प्रदान गरिने एनओसीले जनाएको छ । सो कार्यक्रमले उनीहरूलाई लस एन्जलस ओलम्पिक खेल २०२८ को तयारीमा सघाउनेछ ।

प्रत्येक खेलाडीले सेप्टेम्बर १, २०२५ देखि एलए ओलम्पिक २०२८ सम्म प्रतिमहिना अमेरिकी डलर १,१२५ बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् । सो छाज्ञवृतिमा छनोट भएका खेलाडीहरुमा मनिता श्रेष्ठ प्रधान –जुडो, प्रिन्स दाहाल–ब्याडमिन्टन, इभाना थापा–टेबल टेनिस, शिवाली गुरुङ–टेनिस, उषा खनाल–साइक्लिङ, तेन्जिन बर्टिन राई–स्पोर्ट क्लाइम्बिङ, सद्भाव आचार्य–गल्फ, एर्विन श्रेष्ठ–पौडी रहेका छन् ।

यो कार्यक्रम संरचित, दीर्घकालीन तथा खेलाडी–केन्द्रित सहयोग प्रणालीमार्फत आर्थिक चुनौतीहरू न्यूनीकरण गर्दै नेपालका उत्कृष्ट खेलाडीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षण र प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको एनओसीले जनाएको छ ।

एसियाली खेल तथा युथ ओलम्पिक खेलका लागि एथ्लिट स्कलरसिप कार्यक्रममार्फत एनओसीले एलए ओलम्पिक २०२८ केन्द्रित छात्रवृत्तिसँगै नेपाल ओलम्पिक कमिटीले आगामी बहु–खेलकुद प्रतियोगिताका लागि लक्षित ल्इऋ एथ्लिट स्कलरसिप कार्यक्रम निरन्तरता दिने घोषणा गरेको छ ।

सन् २०२६ मा आयोजना हुने आइची–नागोया एसियाली खेल तथा डकार युथ ओलम्पिक खेलमा नेपाल प्रतिनिधित्व गर्ने खेलाडीलाई जनवरी १, २०२६ देखि सम्बन्धित खेल सम्पन्न नहुन्जेलसम्म प्रतिमहिना रु. ५० हजार आर्थिक सहयोग प्रदान गरिने एनओसीले जनाएको हो ।

आइची–नागोया एसियाली खेल २०२६ का लागि स्कलरसिप प्राप्त खेलाडीहरूमा एरिका गुरुङ–कराते, सानुमाया थिङ–कराते, चन्द्रबहादुर थापा–बक्सिङ, तिलक पुन मगर–धनुर्विद्या (आर्चरी), सुष्मिता तामाङ–उसु रहेका छन् भने डकार युथ ओलम्पिक खेल २०२६ का लागि रश्मी तामाङ–उसुले प्राप्त गरेकी छन् ।

सो कार्यक्रमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयारीरत नेपाली खेलाडीहरूलाई आवश्यक आर्थिक तथा संरचनात्मक सहयोग पु¥याउँदै उनीहरूको प्रदर्शन क्षमतामा थप निखार ल्याउने अपेक्षा गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close