
पोखरा स्पोर्ट्स । नेपाली क्यानो तथा कायक टोली चीन जाने भएको छ । नेपाली टोली चीनको नु जियाङ वाइल्डवाटर क्यानोइङ एसियन च्याम्पियनसिपमा सहभागी हुन जान लागेको हो ।
उक्त च्याम्पियनसिप डिसेम्बर १६ देखि २२, २०२५ सम्म चीनको युनान प्रान्त अन्तर्गत नु जियाङ स्वायत्त प्रिफेक्चरमा आयोजना हुँदैछ । प्रतियोगिता चिनियाँ क्यानो संघको आयोजनामा हुन लागेको हो ।
चीन जान लागेको नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ तथा एनओसीका महासचिव एवं नेपाल राफ्टिङ तथा क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले एनओसी कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत विदाइ गरेका छन् ।
विदाइका क्रममा अध्यक्ष श्रेष्ठले खेलाडी तथा अफिसियलहरूलाई आत्मविश्वास, अनुशासन र खेलभावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको गौरव उच्च राख्न शुभकामना व्यक्त गरे । उनले टोलीको तयारीप्रति विश्वास व्यक्त गर्दै क्यानोइङ र कायकिङ खेलको नेपालमा विकासका लागि यस्ता अन्तर्राष्ट्रिय सहभागिताको महत्वसमेत उल्लेख गरे ।
नेपाली टोलीमा दुई जना अफिसियल र दुई जना खेलाडी रहेका छन् ।
अफिसियलहरू
– सूर्यप्रसाद जोशी
– महेश थापा
खेलाडीहरू
– कृष्ण खड्का
– रञ्जन कँडेल
कार्यक्रममा नेपाल राफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीप राज गौतमको पनि उपस्थिति रहेको थियो । नेपाल ओलम्पिक कमिटीले टोलीलाई सफल प्रतियोगितासँगै सुरक्षित यात्राको कामना गरेको छ ।
