एसिया कपमा नेपाल, यूएई ७ विकेटले पराजित

पोखरा स्पोर्टस । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ । यो जित संगै नेपालले एसिया कपमा स्थान पक्का गरेको छ ।

जितका लागि आवश्यक १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालको जितमा गुलशन झा ८३ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे । उनले ७५ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए ।

चौथो विकेटका लागि क्रिजमा आएका भीम सार्की ७२ बलमा ४ चौकासहित ३६ रनमा गुलशनलाई साथ दिएका थिए ।

नेपालले आजको खेलको सुरुवातमा नै कुशल भूर्तेललाई गुमाएको थियो । दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल पेविलियन फर्केका थिए । उनलाई रोहन मुस्तफाले आउट गरे ।

सातौं ओभरको पहिलो बलमा आयन खानले अर्का ओपनर आसिफ शेखलाई ८ रनमा एलबीडब्लू धरापमा पारे । आठौं ओभरको अन्तिम बलमा मुस्तफाले कप्तान रोहित पौडेललाई १ रनमै बोल्ड आउट गर्दा नेपालले २२ रनमा नै ३ विकेट गुमाउन पुगेको थियो ।

युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा ३ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । आयन खानले ९.३ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भएको थियो । वर्षाका कारण सोमबार स्थगित खेलमा युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको थियो । आजको खेलमा ११ रन जोड्दै युएई १ सय १७ रनमा समेटिएको थियो ।

एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ‘ए’ मा नेपाल र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close