
पोखरा स्पोर्ट्स । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निमित्त सदस्य सचिवका रूपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गरेका छन् ।
एक सातादेखि रिक्त रहेको सदस्य सचिवको जिम्मेवारी मन्त्रालयको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि मेहतालाई दिइएको हो ।
खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम मन्त्रालयको मंसिर १६ गतेको निर्णय अनुसार मेहतालाई कार्यभार दिइएको राखेपले जनाएको छ ।
पदभार ग्रहण गर्दै सदस्य सचिव मेहताले परिषद्का कर्मचारीहरूलाई सुशासन, पारदर्शिता र कानुनसम्मत ढंगले कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । साथै, आफु सदस्य सचिवको जिम्मेवारीमा रहुन्जेल परिषदलाई उदाहरणीय संस्था बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा परिषद्का कार्यकारी समितिका सदस्य कमल बहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, संगठन संरचना तथा व्यवस्थापन सर्भे लगायतका कार्यहरू प्रमुख दायित्वका रूपमा रहेको उल्लेख गरे ।
पदभार ग्रहणका अवसरमा कार्यकारी समिति सदस्यहरू कमल भट्टराई, भान बहादुर चन्द, बोर्डका सदस्यहरू, परिषदका विभाग तथा शाखा प्रमुखसँगै कर्मचारीहरूले नवनियुक्त सदस्य सचिव मेहतालाई स्वागत गरेका थिए ।
यसअघि मंसिर १२ गते निवर्तमान सदस्य सचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी विदा लिएपछि उक्त पद रिक्त रहेको थियो ।
