
पोखरा स्पोर्ट्स । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ फागुनको पहिलो साता हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप)को १२३ औं बोर्ड बैठकले सो निर्णय गरेको हो ।
राखेपको इतिहासमा नै पहिलो पटक प्रत्यक्ष प्रसारित बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ फागुनको १ देखि ७ गते सम्म गर्ने निर्णय गरेको छ । यो सहित कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद चौथो पटक मिति तय भएको हो ।
राखेपको बोर्ड बैठकको अध्यक्षता गरिरहेका सरकारका यूवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले बोर्ड सदस्यहरु बीच नै इगो रहेको समान धारणा र देखिएका समस्याहरु समाधान नभए सम्म दशौं राष्ट्रिय खेलकुद सम्भव नहुने बताए ।
जेन्जी आन्दोलन पश्चात सरकारमा मनोनयन भएका मन्त्री गुप्ताले समस्याहरुका बीच समाधान निस्कने बताउँदै आफू समास्या समाधानका लागि तयार रहेको बताए । उनले भने–“मलाई जनताले यहाँ काम गर्न पठाएका हुन् । मैले सकिन भने छोड्नु पर्छ । यहाँहरुले मलाई सफल बनाउने होइन । खेलकुद र खेलाडीहरुलाई सफल बनाउनुहोस जनताको अपेक्षालाई सफल बनाउनुहोस ।”
बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई ३ महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।
