
पोखरा स्पोर्टस । नेपाल मार्शल आर्टस हाप्किडोको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ ।
आगामी कार्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने वर्ल्ड हाप्किडो च्याम्पियनशिपमा सहभागिताका लागि पोखरामा बन्द प्रशिक्षण शुरु गरिएको हो । एक महिना सम्म सञ्चालन हुने वन्द प्रशिक्षणलाई उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल ‘जिवन’ले खेलकुदलाई आम नागरिकको अधिकारको रुपमा स्थापित गर्नु पर्ने कुरा औल्याएका छन् ।




विगतमा केही मुठ्ठीभर शाषकहरुले खेलकुदलाई मनोरन्जनको साधन संगै आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको कुरा स्मरण गराउँदै मन्त्री बरालले भने–“त्यही कारणले पनि नेपाली खेलकुदले विकासमा पछि पर् यो भने खेलाडीले आफ्नो दक्षता हासिल गर्न सकेनन् ।” मन्त्री बरालले नेपालमा भएको राजनितिक परिवर्तन संगै खेलकुदमा समेत परिवर्तनका संकेत देखा परेको बताउँदै भने–“खेलकुद आम नागरिको अधिकारको रुपमा स्थापित हुनु पर्छ भने यसलाई जिवन पद्धतीको रुपमा विकास गरिनु पर्छ ।”
समाजमा खेलकुदको वुझाईमा क्रमभङ्गताको आवश्यक रहेको बताउँदै मन्त्री बरालले खेलकुद विकासका लागि आफू संग भएको स्रोत र साधनको समुचित प्रयोग गर्दै खेलकुद मार्फत मुलुकलाई समृद्धीतर्फ अगाडी बढाउनु पर्ने उनको भनाई थियो । उनले हाप्किडो विकासको अभियानमा आफ्नो पनि सहभागिता रहेको उल्लेख गर्दै खेलाडीहरुले खेलकुद मार्फत राष्ट्रियता र संस्कृती चिनाउन समेत भूमिका खेल्नुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा आफ्ना धारणा अघि सार्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुदमा लगानी भित्रयाउन आवश्यक रहेको बताए । उनले राज्यको ढुकुटीले मात्रै खेलकुद विकास सम्भव नभएको बताउँदै भने–“खेलकुद विकासका लागि व्यवसायिक प्रतिष्ठानहरु अघि आउनुपर्छ भने राज्यले उनीहरुलाई संरक्षण दिनुपर्छ ।” परिषदले आगामी १० वर्ष भित्र प्रतिष्पर्धा बाट छनोट भएर ओलम्पिकमा सहभागिता जनाउन सक्ने खेलाडी गण्डकी प्रदेश बाट उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै सदस्य सचिव गुरुङले खेलकुद विकासका लागि अन्तर मन्त्रालयहरुको सम्वन्ध अपरिहार्य रहने कुरामा समेत जोड दिंदै आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किडो खेललाई समावेश गर्न परिषद सकारात्मक रहेको बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले समाज रुपान्तरणका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुने बताए । एक महिना प्रशिक्षणमा सहभागि खेलाडीलाई आफ्नो खेल कौशलतामा ध्यान दिन आग्रह गर्दै अध्यक्ष बानियाले भने–“खेलाडीका लागि खेलकुद अनुशासन हो भने खेल मैदान पाठशाला ।”
सो अवसरमा नेपाल मार्शल आर्टस संघ हाप्किडोका अध्यक्ष काली वहादुर घर्ती मगर, युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठ, नेपाल मार्शल आर्टस संघ हाप्किडो गण्डकीका अध्यक्ष एमवी आस्था लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रम वन्द प्रशिक्षणका संयोजक एवम कास्कीका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको थियो ।
पोखरा रंगशालामा हुने वन्द प्रशिक्षणमा देशभरीका २० जना खेलाडी सहभागी छन । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई नेपाल मार्शल आर्टस हाप्किडोका वरिष्ठ प्रशिक्षक काली बहादुर घर्ती मगर, प्रमुख प्रशिक्षक सुष्मिता गुरुङ, सहायक प्रशिक्षकद्वय भुवन वुढा मगर र प्रविन गुरुङले प्रशिक्षण दिने कार्यक्रम रहेको गण्डकी प्रदेशकी हाप्किडो संघकी उपाध्यक्ष तथा प्रखेप गण्डकीकी कार्यकारी सदस्य तारा थापा मगरले जानकारी दिइन ।
