
पोखरा स्पार्ट्स । पोखरामा भलिबलको आधारभूत प्रशिक्षक/प्रशिक्षण तालिम बिहिबार सम्पन्न भएको छ । गण्डकी प्रदेश भलिबल संघको आयोजनामा सम्पन्न एक साता लामो सो प्रशिक्षणमा दिक्षित सहभागिहरुलाई नेपाल भलिबल संघका सल्लाहकार एवं टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले प्रमाणपत्र वितरण गरे ।
सो अवसरमा बोल्दै सल्लाहकार शर्माले भलिबलको विकासका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले भने–“म अध्यक्ष रहेको क्लब र गण्डकीको भलिबल क्लबको विषयलाई लिएर केहीले कुरा गर्दै हिडेका मैले सुने । यस्ता विषय हाम्रा लागि कदापी सह्य हुदैन । यो विषयलाई मैले संघको केन्द्रिय सभामा उठाउने छु ।” संघका पदाधिकारी हुन् वा क्लबका खेलाडी, रेफ्रि सबैले अनुशासनको पालना गरे मात्र भलिबल प्रति हेर्ने दृष्टिकोणमा अझै सुदृढ हुने उनले विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेश भलिबल खेल विकासका लागि संगै यूवा पुस्ताका खेलाडी उत्पादनका लागि यस प्रकारका प्रशिक्षणहरु महत्वपूर्ण हुने उल्लेख गर्दै सल्लाहकार शर्माले प्रशिक्षार्थीहरुलाई आफूले सिकेको शिपलाई उपयोग गर्दै यूवा खेलाडीहरु उत्पादनमा अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागमा कार्यरत भलिबलका मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्, संघका महासचिब टहल सिंह थापा मगर, प्रशिक्षार्थी कुमार किशानलगायतले आफ्ना भनाई राख्दै प्रशिक्षण कार्यक्रम उपलव्धिमुलक रहेको बताए ।
सो कार्यक्रममा गण्डकी प्रदेश भलिबल संघका सल्लाहकार मन बहादुर गुरूङ, उपाध्यक्ष याम बहादुर गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरूङ, पृथ्वीनारायण क्याम्पस स्ववियू सभापति विष्णु पोखरेललगायतको सहभागिता रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका संयोजक पूर्ण बहादुर गुरूङ ‘जापान’ले जानकारी दिए ।
समापन कार्यक्रम गण्डकी प्रदेश भलिबल संघका कार्यबहाक अध्यक्ष राजेन्द्र जिसीको अध्यक्षतामा भएको थियो । सो प्रशिक्षणमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ४३ जनाको सहभागिता रहेको थियो । उनीहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षक/प्रशिक्षणमा सहभागिहरुलाई भलिबल मुख्य प्रशिक्षक भट्ट, पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली र अन्तर्राष्ट्रिय भलिबल रेफ्रि टहल सिंह थापाले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
