नेपाल भलिबल संघको १२औं साधारण सभा पोखरामा हुदै

पोखरा स्पोर्ट्स । नेपाल भलिबल संघको १२औं साधारण सभा पोखरामा हुने भएको छ ।

संघले यहि भदौ २७ गते पोखरामा आफ्नो साधारण सभा आयोजना गर्न लागेको महासचिब रोशन श्रेष्ठले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका हुन् । उनले भने–“हामीले संघको साधारण सभा पोखरामा गर्न लागेका हौं । यसले पोखरा खेलकुदको केन्द्र हो भन्ने कुरा स्थापित हुनेछ । पोखरा आफैमा भलिबलको नगरीको रुपमा परिचित छ । हामी देशभरीकै प्रतिनिधी बोलाएर साधारण सभा सम्पन्न गर्दैछौं ।”

साधारण सभामा ७७ जिल्लाका एक–एक जना प्रतिनिधिहरु, सात प्रदेशका एक–एक जना प्रतिनिधि, कार्यसमितिका ४० जना पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार गरी १४५ जना प्रतिनिधिहरुको सहभागिता हुनेछ । साधारण सभामा प्रतिवेदनहरु प्रस्तुत गरिनेछन् भने आगामी कार्ययोजनाका बारेमा समेत व्यापक छलफल हुने महासचिब श्रेष्ठले पोखरा स्पोर्ट्सलाई बताए । “भलिबलको वृहद् सहभागिताले भलिबल खेलप्रतिको उत्साह जगाउनका साथै खेलपर्यटनको माध्यमबाट पोखरालाई चिनाउन भूमिका खेल्ने छ”, उनले भने, “पोखरामा सम्पन्न हुने १२औं साधारण सभाले भलिबललाई उचाईमा पुर्याउन नयाँ आयाम थप्ने छ ।”

सो साधारण सभा सम्पन्न गर्न संघका उपाध्यक्ष याम बहादुर गुरूङलाई संयोजकको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष गुरूङले साधारण सभाको तयारी सुरू गरिएको पोखरा स्पोर्टसलाई जानकारी दिंदै प्रदेश खेलकुद परिषदका सदस्य सचिब एवं संघका केन्द्रिय सचिब श्रीधर शर्मा, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष एवं संघका सल्लाहकार नारायण प्रसाद शर्मा, गण्डकी भलिबल संघका कावा अध्यक्ष राजेन्द्र जिशी, जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष विष्णु गुरूङलाई साधारण सभा सम्पन्न गर्न विशेष जिम्मेवारी दिएको बताएका छन् ।

यस अघि पोखराले चार पटक साधारण सभा गर्ने अवसर प्राप्त गरिसकेकोछ । पोखरामा हुन लागेको यो साधारण सभा पाँचौ हो ।  साधारण सभा सम्पन्न गर्न करिव २ लाख खर्च लाग्ने उपाध्यक्ष गुरूङले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close