
पोखरा स्पोर्ट्स । नेपाली टेबलटेनिसको सर्वाधिक पुरस्कार राशीको रूपमा मानिने स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको तेस्रो सिजन आगामी भदौ १ देखि ६ गतेसम्म काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीले आयोजना गर्ने यस संस्करणमा चीन, भारत, पाकिस्तान र चाइनिज ताइपेइका खेलाडी सहभागी हुनेछन् । प्रत्येक टिममा एक महिला र एक पुरुष विदेशी खेलाडी रहनेछन् ।
यसपटक १० क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्ड हाउस रेस्टुरेन्ट, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति रहेका छन् । अघिल्ला संस्करणमा आठ टिम सहभागी भए पनि यसपटक सहभागिता बढाइएको छ ।
एकेडेमीकी प्रबन्ध निर्देशक तथा नौ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठका अनुसार, प्रतियोगिता डिजिटल लाइट तथा आकर्षक कोर्ट सजावटसहित हुनेछ । पुरस्कार राशी पनि अघिल्लो वर्षको चार लाख रुपैयाँबाट बढाएर छ लाख रुपैयाँ पुर्याइएको छ ।
विजेताले तीन लाख रुपैयाँसहित रनिङ ट्रफी, उपविजेताले १ लाख ५० हजार रुपैयाँ, र तेस्रो हुने दुई टिमले समान ७५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमार्फत आयोजकले तीन सहप्रायोजक—सामाजिक अभियन्ता एवं टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल शेपर्स, मेटलवुड नेपाल—र अन्य साझेदार डेल्टा अटोकोर्प, सेल्ट्रोन नेपाल प्रा.लि. र कल मोबिलिटी प्रा.लि.सँग सम्झौता गरेको जानकारी पनि दिएको छ ।
पहिलो संस्करणमा एभिएम टेबलटेनिस क्लब र दोस्रो संस्करणमा नेपाल पुलिस क्लबले उपाधि जितेका थिए। तर, यसपटक प्रहरी टिम सहभागी हुने छैन ।


