पोखरामा गण्डकी कप महिला राष्ट्रिय बास्केटबल सुरू, मन्त्री थापाले गरे उद्घाट्न, गण्डकीको बिजयी सुरूवात

पोखरा स्पोर्टस । पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा पहिलो पटक राष्ट्रिय बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ । उद्घाटन खेलमा आयोजक गण्डकीले बिजयी सुरूवात गरेको छ ।

गण्डकी प्रदेश बास्केटबल संघले गण्डकी कप महिला राष्ट्रिय बास्केटबल प्रतियोगिता बहुउद्धेश्यिय कभर्डहलमा आयोजना गरेको हो । सो प्रतियोगिता एक कार्यक्रमका बीच गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरे ।

सो अवसरमा बोल्दै मन्त्री थापाले खेलकुद स्वास्थ्यका लागि मात्रै नभई अनुशासन संगै समाजका लागि असल नागरिक उत्पादनका लागि समेत महत्वपूर्ण हुने बताउँदै गण्डकी प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको औंल्याए । उनले सबै खेलहरुको समान विकास होस भन्नका लागि नै खेल संघहरुलाई बजेट विनियोजन गरेको बताउँदै आर्थिक समृद्धि संगै खेलमार्फत पर्यटन प्रवर्द्धनका लागि खेलकुदको भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले यति बेला तीन तह कै सरकार बजेट विनियोजनको समय रहेको बताउँदै तर तीन तहकै सरकारले खेलकुद विकासको बजेटमा उपेक्षा गरेको आरोप लगाए ।

अध्यक्ष शर्माले नेपाल बास्केटबल संघ वैधानिक तवरले अघि नवढ्दा बास्केटबल खेलको विकासको गति अवरुद्ध भएको बताउँदै सम्वन्धित सरोकार पक्षले सो बारे यथासिघ्र पहल गरी संघलाई वैधानिकता दिनुपर्नेमा समेत् जोड दिए ।

गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले संघले पछिल्लो क्रममा पुरुषतर्फको राष्ट्रिय प्रतियोगिता लगायत विभिन्न प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरेको जनाउँदै लामो समय देखि अवरुद्ध बनेको महिलातर्फको राष्ट्रिय प्रतियोगिता विभिन्न समस्याका बाबजुद सञ्चालन गरिएको बताए ।

कार्यक्रममा संघका महासचिव विष्णु गुरूङले समेत आफ्ना भनाई राखेका थिए ।

प्रतियोगिताको पहिलो दिन लिग चरणका खेलहरु सुरू भएका छन् । पहिलो दिन भएका ६ खेलमा कर्णाली प्रदेशले लिग चरणका दुई खेल जितेको छ भने गण्डकी र बाग्मतीले एक एक खेल जितेका छन् ।

उद्घाटन खेलमा घरेलु टोली गण्डकीले बागमतीलाई २४–१७ को स्कोरले पराजित गर्दा बागमतीले मधेश प्रदेशलाई ७१–१७ को विशाल स्कोरले पराजित गरेको छ । त्यस्तै कर्णालीले लुम्विनीलाई ३४–३१ र कोशीलाई ४९–१४ ले पाखा लगाएको छ ।

अध्यक्ष गुरूङका अनुसार भोली शुक्रबार लिग चरणका दुई खेल हुनेछन् भने दिउसो सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् ।

फिबाको नियम अनुसार लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा बिजेता टिमले नगद रु ७५ हजार, उपविजेताले नगद रु ५० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्ट दुई टिमलाई १०–१० हजार सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close