
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्ले यु–१४ विद्यालय खेलकुद यही जेठ २२ गते देखि २६ गते सम्म काठमाण्डौमा सन्चालन गर्ने भए पनि जिल्ला र प्रदेश छनौटमा भने रकम शुन्यताले कस्तो खेलाडी छनौट भए जाने हुन् त्यो भने प्रश्न उव्जिएको छ ।
बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उद्धेश्यबाट आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ६ वटा खेल समावेश गरिएको राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् । एथलेटिक्स, टेबुलटेनिस, बास्केटबल रग्वी, व्याडमिन्टनका छात्र/छात्रा र क्रिकेटमा छात्रको मात्र खेल हुने छन् ।
रग्वी खेल भने राजनितिक पहुँचका आधारमा जवरजस्ती घुसाइएको हो । जुन खेल नेपालीका लागि उपयूक्त नभएको स्वयं नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले समेत बताउँदै आएका छन् ।
राखेपको अदुरदर्शी निर्णयका कारण जिल्ला र प्रदेश छनौटमा रकम अभाव हुँदा छनौटको जिम्मेवारी पाएका संस्था भने अन्यौलता देखिएको छ । गत वर्ष भने राखेपले छनौटका लागि बजेट व्यवस्था गरेको थियो ।
विद्यालय खेलकुद महासंघ, प्याव्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघहरुका प्रतिनिधि सहभागी बैठकहरुले अन्तिम तयारी गरेको कार्यक्रम संयोजक कार्यकारी समिति सदस्य रन्जना प्रधानले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन जेठ २२ गते हुने छ । एथलेटिक्स र रग्वी २२ र २३ गते रंगशालामा हुने छन । सोही मितिमा व्यडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सन्चालन गरिने भएको छ । यस्तै छात्र क्रिकेट भने २२ गते देखि २६ गते सम्म मुलपानी क्रिकेट मैदानमा सन्चालन गरिने छ ।
एथलेटिक्सको ट्याक तर्फ १ सय, २ सय, ४ सय र ८ सय तथा ४x१०० मिटर रिले दौड र लङजम्पमा प्रतिष्पर्धा हुने छन् । टेबलटेनिस र व्याडमिन्टनमा छात्र/छात्रा सिंगल तथा डवल्सका प्रतिष्पर्धा हुने शर्माले जानकारी दिएका छन् । यस्तै बास्केटबल छात्र/छात्र ३x३ र रग्वीको छात्र/छात्राका प्रतियोगिता हुने छन् ।
