
पोखरा स्पोर्टस । साहित्यकार प्राध्यापक डा.अभी सुवेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् । पोखरा नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले बर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’बाट सम्मान गरिएको हो ।
यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८’ बाट सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, सञ्चालक डा. राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुली, निर्देशक किरण सापकोटालगायतले प्रा.डा.सुवेदी र क्रिकेटर मल्ललाई जनही एक लाखसहित ताम्रपत्र, खादा, माला र अवीर लगाएर सम्मान गरे ।
प्रा.डा. सुवेदीले झण्डै ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको विद्यालयले जनाएको छ । नेपाली तथा अङ्ग्रेजी भाषामा कविता रचना, साहित्य समीक्षा र नाटक लेखन गर्दै आएका छन् । विगत ५३ वर्षदेखि उच्च शिक्षा क्षेत्रमा प्राध्यापनरतसमेत छन् ।
क्रिकेट खेलमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरुप मल्ललाई सम्मान गरिएको विद्यालयले जनाएको छ । यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गरी जनही १ लाख राशीसहित सम्मान गरिसकिएको छ । एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको छ ।
विद्यालयले सोहि विद्यालयकी छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान–२०७८’बाट सम्मान गरेको छ । ‘वल्र्ड इकोनोमिक कप’मा काश्य पदक जितेकी उनलाई विद्यालयले ‘प्रतिभा रत्न सम्मान–२०७८’ बाट सम्मान गरेको हो । यस्तै, नेशनल ईकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनौट हुन सफल कुमार बराललाई पनि सम्मान गरेको छ ।
विद्यार्थीहरु प्रधानमन्त्रीसम्म भए, अपेक्षा गरेअनुसार भएन, चित्त पनि दुख्छः प्रा.डा. सुवेदी
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. अभि सुवेदीले विगत ५३ वर्षदेखि विद्यार्थीहरुलाई अगाडि राखेर मुख हेर्दै आएको बताउँदै ७५ वर्षको यो उमेरमासमेत पढाइरहेको बताए । प्रा.डा. सुवेदीले भने– ‘अगाडि विद्यार्थी राखेर उनीहरूका मुख हेरेको ५३ वर्ष भएछ । यत्ति हो, अहिले जुम प्रविधिबाट हेरिरहेको छु । अहिले पनि विद्यार्थीकै अगाडि छु । २०६५ मा आएपछि अहिले दोस्रोपटक पोखराको प्रतिभाको आँगनमा टेकेँ । टिनको छानो थियो, भव्य भइसकेछ । विद्यालयको प्रगति देख्दा खुशी छु ।’
शिक्षण पेशामा रहँदा खुशी पनि मिलेको र चित्त पनि दुखेको उनले सुनाए । ‘शिक्षक नदी किनारको माझी जस्तै हुन् । तर्छन्, जान्छन्, माझी उहीँ रहन्छन् । शिक्षा र समय नदी हो, बगिरहन्छ । मेरो जिन्दगीभरको काममा खुशी छु, गर्व पनि छ । र, चित्त दुखेको पनि छ ।’ उनले भने– ‘मैले पढाएका विद्यार्थीहरु सबै पदमा पुगे । देशका प्रधानमन्त्री पनि भए, शिक्षा मन्त्री, विदेश मन्त्रीहरु भए । चित्त दुखेको यहाँ हो । मैले जे अपेक्षा गरेँ । त्यो भएन ।’
ठट्यौली पारामा डा. सुवेदीले विद्यार्थीमाझ भने– ‘मेरा विद्यार्थीहरू बुढा भए । म मात्रै उस्तै छु । विगत १० वर्षदेखि हरेक वर्ष ६५ औं वर्षदिन मनाइरहेको छु ।’
उनले पोखरा सिर्जनशील व्यक्तिहरुको शहर रहेको पनि बताए । ‘पोखरामा सिर्जनशील व्यक्तिहरूको जमघट राम्रो छ । धन सिर्जनशील काममा लगाउँछन् । संस्था बनाउँ भन्ने धारणा छ । यो संस्था उदाहरण हो । पोखरामा धेरै सम्भावना छ ।’ उनले भने – ‘पढाई र सिर्जनशीलतामा भिन्नता छैन । कोहि पढ्छन्, कोहि नाच्छन्, गाउँछन्, खेल्छन् । सबैसँग आफ्ना प्रतिभा हुन्छन् । यसैमा केन्द्रीत रहँदै अघि बढ्नुपर्छ ।’ उनले सम्मान थाप्ने बानी आफ्नो नरहेको भन्दै आजको दिन लाज हुने गरी प्रशंसा पाएको दिनका रुपमा चित्रित गरे ।
यो सम्मान सम्पूर्ण खेलाडीको सम्मानः क्रिकेटर मल्ल
सम्मानित क्रिकेटर ज्ञानेन्द्र मल्लले प्रतिभा माविको सम्मानले आफूलाई झनै राम्रो गर्न प्रेरित गरेको बताए । ‘मलाई गरिएको सम्मान सम्पूर्ण खेलाडीलाई गरिएको सम्मानका रूपमा लिएको छु । यसले मलाई प्रेरणा मिलेको छ ।’ – मल्लले भने– ‘कोहि पढाईमा, कोहि खेलकुदमा अब्बल छन्, सबै आफ्नै ठाउँमा अगाडि हुनुहुन्छ । र, प्रतिभामा तपाईहरु हुनुहुन्छ भविष्यको लागि सेफ ह्याण्डमा हुनुहुन्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गण्डकी प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित भएको बताए । पौडेलले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मानलाई निरन्तरता दिने बताए ।
