अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सव : नर्थ/साउथ दुबैतर्फ म्याराथन

पोखरा स्पोर्टस । अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा अन्नपूर्ण नर्थ/साउथ दुबैतर्फ म्याराथन आयोजना गरिएको छ ।

अन्नपूर्ण साउथ वेस क्याम्पतर्फ विगत चार वर्ष देखि लगातार अन्नपूर्ण म्याराथन आयोजना हुँदै आए पनि यस वर्ष देखि उत्तरी अन्नपूर्ण क्षेत्रको बेस क्याम्पबाट पहिलो पटक म्याराथन आयोजना हुने अन्नपूर्ण गाउँपलिका म्याग्दीका अध्यक्ष भरत बहादुर पुनले जानकारी दिएका हुन् । दुबै म्याराथन मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहणको दिन जुन २३ मा एकै दिन आयोजना हुनेछन् ।

अन्नपूर्ण साउथ बेस क्याम्पबाट हुने म्याराथन सन् २०१७ देखि नियमित हुँदै आएकोमा यस वर्ष १० विदेशी धावकसहित ८० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ भने उत्तरी भेगबाट हुने म्याराथनमा अन्नपूर्ण गाउँपालिकाका ८ वटा वडाका ५० धावकहरुको सहभागिता हुने अध्यक्ष पुनले जानकारी दिए ।

नेपालको साहसिक पर्यटन र हिमाली पहिचानको गौरवमयी इतिहासलाई उजागर गर्दै अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५औं वार्षिकोत्सव (१९५०–२०२५) विविध कार्यक्रमहरूसहित पोखरा र आसपासका क्षेत्रहरूमा मनाइने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख मणीराज लामिछानेले बताए ।

सन् १९५० जुन ३ मा विश्वकै पहिलो आठ हजार मिटरभन्दा अग्लो हिमालको रूपमा अन्नपूर्ण (८,०९१ मि) को सफल आरोहण फ्रेन्च पर्वतारोही मौरिस हर्जोग र लुइस लाचेनल तथा नेपाली सहयोगी आङ थार्के शेर्पाको टोलीले बिना अक्सिजन ऐतिहासिक कठिनाइबीच सम्पन्न गरेका थिए । यही गौरवपूर्ण दिनको सम्झनामा प्रत्येक वर्ष जुन ३ मा “अन्नपूर्ण आरोहण दिवस” मनाउने परम्परा रहिआएको छ ।

यस वर्ष २०२५ को ७५औं वार्षिकोत्सव विशेष कार्यक्रमहरूसहित मनाइँदैछ । कार्यक्रमहरूमा नेपाली तथा अन्तर्राष्ट्रिय सहभागीहरू, विशेषगरी फ्रान्सेली प्रतिनिधिमण्डलको विशेष उपस्थिति रहनेछ । मौरिस हर्जोगका छोरा मथियस हर्जोग र नाति ईथान हर्जोगसहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिएका छन् ।

हिरक महोत्सवमा हुने प्रमुख कार्यक्रमहरू
१. नारच्याङ–अन्नपूर्ण उत्तर आधार शिविर पदयात्रा (जेठ १७–१९)
१९५० मा आरोहण प्रारम्भ भएको मार्ग हुँदै नारच्याङदेखि अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रा।

२. फ्रान्सेली सांगीतिक प्रस्तुतिहरू
पदयात्रा स्थलहरू र पोखरामा फ्रान्सेली सांगीतिक टोलीको सांस्कृतिक प्रस्तुति, अन्तरक्रिया र प्रदर्शनी कार्यक्रमहरू आयोजना गरिने ।

३. मौरीस हर्जोगको शालिक अनावरण (जेठ २०)
पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मौरिस हर्जोग, लुइस लाचेनल र सोना वाङचुक शेर्पाको शालिक अनावरण गरिने ।

४.अन्तर्राष्ट्रिय हिमाली सामग्री हस्तान्तरण (जेठ २२)
अन्नपूर्ण प्रथम आरोहणमा प्रयोग गरिएका सामग्रीहरूलाई अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हस्तान्तरण गरिनेछ। साथै, आरोहणसम्बन्धी फोटो प्रदर्शनी ।

५.अन्नपूर्ण म्याराथन (जेठ २०)
सन् २०१७ देखि नियमित हुँदै आएको अन्नपूर्ण म्याराथनमा यस वर्ष १० विदेशी धावकसहित ८० भन्दा बढी सहभागी हुने । अन्नपूर्ण बेस क्याम्पदेखि घान्द्रुकसम्म ।

सन १९५० मा म्याग्दी जिल्लाको नारच्याङ हुँदै हुमखोला र भुकेट मेलाको गोठालो बाटो हुँदै प्रारम्भ गरिएको अन्नपूर्ण आरोहणको ऐतिहासिक मार्ग आज पनि मुख्य पदमार्गका रूपमा लोकप्रिय रहेको अध्यक्ष पुनले बताएका छन् ।

सो कार्यक्रम नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, स्थानीय पर्यटन व्यवसायी, सञ्चारकर्मी, पर्वतारोहण क्षेत्रका विज्ञ, र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहकार्यमा कार्यक्रम सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close